देश र जनताको सेवा गर्न उम्मेदवार बनेको हुँ ःविजय कुमार गच्छदार

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार छन् विजयकुमार गच्छदार।

सुनसरीका स्थानीय गच्छदार अहिले आफ्नो पक्षमा मत माग्न मतदाताका घरघर पुगिरहेका छन्।सलाम खानका लागि राजनीतिमा नआएको बताउँदै उनी जनता र देशको सेवा गर्ने ध्येय बोकेर उम्मेदवार बनेको बताउँछन् ।

उनै गच्छदारसँग गरिएको संक्षिप्त कुराकानी ः
सुनसरी क्षेत्र नम्बर–३ मा तपाइँलाई मतदाताले मत किन दिने?

नेपाली कांग्रेस बदलिएको छ। अब कांग्रेसको नेतृत्वमा देशलाई बदल्नु छ। नेपाली जनताको चाहना र इच्छा आकांक्षा देशमा भ्रष्टाचारको अन्त्य होस भन्ने छ। सुशासन कायम होस भन्ने छ। देश कसरी अगाडी बढ्छ भन्ने चिन्ता जनजनमा छ । भाद्र २३ र २४ को जेन–जी आन्दोलन पनि त्यही कारणले भयो । अब सोही आन्दोलनको मर्म र जनताको भावनालाई सम्बोधन गर्न पनि कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आवश्यक छ। मेरो उम्मेदवारी त्यसैका लागि हो। अहिले म यही विषय लिएर जनताको माझमा मत माग्दै पुगेको छु ।
तपाईं अनुभबी हुनुहुन्छ, मतदाताका नजरमा इतिहास बोकेको उम्मेदवार पनि हुनुहुन्छ, यो क्षेत्रको मतदाताको मनोविज्ञान चाहिँ कस्तो पाउनु भएको छ ?
अहिले जेन–जीको मुद्दा भनेको नेता सुध्रनु पर्छ। देशलाई भ्रष्टाचारबाट मुक्त गराउनु पर्छ। मुलुकमा सुशासन कायम हुनु पर्छ भन्ने हो। यो क्षेत्रको जनताको माग पनि त्यही हो । देश विकासका लागि हामीसँग प्रसस्त आधारहरु छन्। अहिले नेपालका जनता कि करको कि रेमिट्यान्सका कारण बाँचेको अवस्था छ। देशलाई कसरी पर्यटन मार्फत अघि बढाउन सकिन्छ। कसरी रोजगारी सिर्जना गर्न सकिन्छ । भएकै पुर्वाधारलाई कसरी प्रयोग गरेर नेपाललाई चिनाउन सकिन्छ भन्ने चिन्ता आम मतदाता, युवा जेन–जीहरुको मनोविज्ञान हो।

दलहरुसँग मतदाताको गुनासो चाहिँ कस्ता विषयमा आइरहेको पाउनु भयो?

अहिले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि लगायतमा समस्या छ । किसानले समयमा मल खाध पाइरहेका छैनन्। सिंचाइका लागि जनताले पानी र मोटर पाइरहेका छैनन्। विजुलीका लागि पोल पाइरहेका छैनन्। सानासाना आधारभूत विषयमा जनता आजित छन्। हामीले हाम्रो नीति लाई बदलिएर अब काम गर्नु पर्ने छ। बाटो कुन बेला बनाउने, किसानलाई मल कुन बेला दिने, कोल्डस्टोर कहाँ बनाउने भन्ने सानासाना विषयमा अब काम गर्न ढिला भइसकेको छ ।

यी सामान्य विषय हिजो भएन, अब सम्भव छ ? मतदातालाई कसरी विश्वास दिलाउने ?

हामी त अब बदलिएर आएका छौं । कांग्रेस अब बदलिएको छ । बदलिएको कांग्रेसले नै देश बदल्न सक्छ भन्ने अठोट हामीसँग छ । कांग्रेसले धेरै ठाउँमा नयाँ र युवा उम्मेदवारलाई यसपटक उम्मेदवार बनाएको छ । हिजोको काम गर्ने तरिका भएन भनेर नै अब हामी आएका हौं। अब कहाँ मलको फ्याक्ट्री बनाउने? कहाँ उद्योग खोल्ने? पर्यटनका पुर्वाधार कहाँकहाँ बनाउने? स्थानीय नागरिकलाई नै उद्योगमा कसरी रोजगारी दिने भन्ने अब हाम्रो मुद्दा हो । अब आजित भएका जनताले उम्मेदवार चिनेर जानेर मत दिनु पर्छ । गफ होइन, आश्वासन होइन काम गर्ने उम्मेदवारलाई मत दिनु पर्छ ।
यहाँको निर्वाचन क्षेत्र ३ सुनसरी, मोरंगकै मुख्य औद्योगिक क्षेत्र पनि पर्छ, युवालाई स्थानीय स्तरमा नै रोजगारी दिन कस्तो छ योजना ?
अहिले यहाँका उद्योगमा स्थानीय भन्दा बढी बाहिरका ब्यक्तिहरुले बढी रोजगारी पाइरहेका छन्। हामी स्थानीय तहसँग मिलेर, उद्योगसँग समन्वय गरेर नीति बनाएर नै स्थानीय नागरिकलाई यहाँ रोजगारीका लागि जोड्न चाहन्छौं। यहाँका उद्योगहरुसँग सामाजिक उत्तरदायित्वका कार्यक्रममा हामी यहीका युवाहरूलाई जोड्न चाहन्छौं। त्यसका लागि म योजना बनाएरै सहकार्यको नीति लिएर काम गर्छु ।

सुशासनका सवालमा केके योजना बनाउनु भएको छ ?

हामी अहिले काम भन्दा भाषणमा रमाइरहेका छौं । जनताले डेलिभरी खोजेका छन् । सेवाप्रवाहमा झ्यालझ्याल धाउनु पर्ने अवस्थाको अन्त्य जनताको चाहना छ। अब घरमै बृद्ध भत्ता पुर्याउन पर्छ । कुन काम कसरी गर्ने भन्ने मास्टर प्लान बनाउनु पर्छ। कागजमा योजना थन्काएर हुँदैन, नक्सा मात्रै बनाएर पनि अब चल्दैन । काम देखिनु पर्यो। मेरो भुमिका अब त्यता केन्द्रित हुन्छ ।

तपाइँको निर्वाचन क्षेत्रमा स्वास्थ्य पुर्वाधार पर्याप्त छैन, यसतर्फ तपाइको योजना के छ ?

हो। सुनसरी ३ मा धेरै उद्योगधन्दा छन् । प्रदुषणको अवस्था बढ्दो छ । धेरै उद्योगधन्दा सञ्चालन भइरहेका कारण वातावरणीय प्रदूषणको अवस्था दिनप्रतिदिन बढ्दो छ । उद्योगबाट निस्कने धुवाँ, रासायनिक फोहोर र आवाजले हावा, पानी र माटो प्रदूषित बनाएको छ । यसका कारण मानव स्वास्थ्यमा विभिन्न रोगको जोखिम बढिरहेको छ भने जैविक विविधतामा पनि नकारात्मक असर परेको छ । प्रदूषण नियन्त्रणका लागि उद्योगहरूलाइ वातावरणमैत्री प्रविधि प्रयोग गर्न कार्यन्वयन गराउने फोहोर व्यवस्थापन प्रणाली सुधार गराउने र सम्बन्धित निकायले कडाइका साथ नियम कार्यान्वयन गराउन अघिबढ्ने छु ।
जनताको स्वास्थ्यका सवालमा चिन्ता लिनु पर्ने अवस्था टड्कारो छ । सामान्य उपचार बाहेकको सेवा लिन यो क्षेत्रका जनतालाई सहज पक्कै छैन। विशेषज्ञ उपचार सेवाको भरपर्दो ब्यवस्था, सुविधासम्पन्न अस्पताल यो क्षेत्रका लागि अपरिहार्य छ । स्वास्थ्य उपचारका लागि नजिककोशहर बिराटनगर,धरान र भरपर्दो उपचारका लागि काठमाडौं नै जानू पर्ने अवस्थाको अन्त्य मेरो प्राथमिकतामा रहनेछ । म निर्वाचित भएपछि त्यसका लागि म केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरेर स्थानीय सरकारसँग सहकार्य गर्दै योजना बनाएर काम गर्छु ।

अन्त्यमा मतदातालाई के भन्न चाहनुहुन्छ ?

अब दायाँबायाँ केही नसोच्नुस । म अनुभबी हुँ, त्यसमाथि पनि यो मुलुकमा संबिधान जारि गर्नुमा मेरो ठुलो भूमिका रहेको छ । म ठूलो बन्न, सलाम खान उम्मेदवार बनेको होइन । देशको सेवा गर्न उम्मेदवार बनेको हुँ । नेपाललाई पर्यटनका क्षेत्रमा धेरै काम गर्न सकिन्छ । कोशी प्रदेश संभाबना बोकेको प्रदेश हो जलका मार्फत हामीले नेपाललाई चिनाउन सक्छौं । मलाई यस पटक अन्तिम सेवा गर्ने अवसर दिनुस् । यही भन्छु, मौका दिनुस्, मलाई रुखमा मत दिनुस् । गरेर देखाउँछु ।