
निर्वाचन नजिकिँदै जाँदा सुनसरी क्षेत्र न ३ का उम्मेदवारहरू मतदाता भेटघाट तथा घरदैलो अभियानमा व्यस्त बन्न पुगेको छ ।


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सुनसरीक्षेत्र न ३ मा चुनावी सरगर्मी तात्दै गएको हो ।

घरदैलोका क्रममा उम्मेदवारहरूले आफू निर्वाचित भएपछिका योजनासहित प्रतिबद्धता र बाचा पत्र मतदाता बीच सार्वजनिक गर्दै आएका छन् ।
उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, रोजगारी सिर्जना र समग्र विकासलाई प्राथमिकता पस्किदै गएको छ । अधिकांश उम्मेदवारले विगतमा अधुरा रहेका योजनालाई पूरा गर्ने र नयाँ विकासका आधार तयार गर्ने प्रतिबद्धता जनाएका छन्। तर यस पटक, विगतका चुनावजस्तो सहज रूपमा मतदातालाई विश्वस्त पार्न उम्मेदवारहरूका लागि चुनौतीपूर्ण रुपमा देखिएको छ ।

पटक–पटक दोहोरिएका आश्वासनहरू व्यवहारमा कार्यान्वयन नभएको भन्दै मतदाता राजनीतिक दल र उम्मेदवारका प्रतिबद्धताप्रति शङ्कित बनेका छन् । सुनसरीका इटहरीका स्थानीय रंजित सरदारका अनुसार“उम्मेदवार आउँछन्, जित्नका लागि आश्वासन बाँड्छन् र जितेपछि आफ्नै स्वार्थमा लाग्छन् । बारम्बार फकाउने कुरा मात्रै सुन्नु परेको छ, अब त सहजै विश्वास गर्न सकिने अवस्था छैन ।”
विकासका नाममा चुनावी बेला धेरै कुरा सुनिए पनि कार्यान्वयन पक्ष फितलो हुँदा जनतामा निराशा बढेको मतदाताको भनाइ छ । सडक, स्वास्थ्य सेवा र रोजगारीजस्ता आधारभूत आवश्यकता अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको गुनासो उम्मेदवारलाई स्थानीय मतदाताले गर्ने गरेका छन् ।
यस पटक सुनसरी क्षेत्र न ३ मा चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा मतदाता भने ‘बाचा होइन, काम चाहियो’ भन्ने मनस्थितिमा देखिएका छन् ।
