
आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधीसभा निर्वाचनमा नेपाली कांंग्रेसबाट उम्मेदवार बनेका राजीव कोइरालाले आफू पदमा हुँदा होस् वा नहुँदा सधैंभरी जनताको पक्षमा काम गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।


उनले अहिलेको चुनावमा केही नयाँ दलले भ्रम सिर्जना गरेको बताउँदै आफू सधैंभरी जनताकै पक्षमा काम गर्दै आएको र भविष्यमा थप जिम्मेवार साथ काम गर्ने बताए ।
‘नयाँ भनेर केही भ्रम फैलाइएको छ, यो गलत छ,’ कोइरालाले शनिबार इटहरी वडा नं. ४ का मतदातासमक्ष मत माग्ने क्रममा भने, ‘तपाईंहरू ढुक्क हुनुहोस्, तपाईंकै सुखदुःखमा साथ दिने व्यक्ति मै हुँ ।’
कोइराला स्वच्छ छवीका नेतामा पर्छन् । जनतमाझ मत माग्ने क्रममा कोइरालालाई अहिले निष्ठापूर्वक राजनीति गर्दै आएकोमा चुनाब जितेर गएपछि पनि त्यसलाई कायम राख्न सुल्झाएका थिए ।
कोइरालाले शनिबार बिहान ८ बजेदेखि इटहरी वडा नं. ४ का विभिन्न वस्तीमा पुगेर मतदातासमक्ष मत मागेका छन् ।
उनी सुनसरी क्षेत्र नं. २ बाट उम्मेदवार बनेका नेतामध्ये सबैभन्दा हेभीवेटका नेता हुन् ।
‘राजीव कोइराला यस क्षेत्रमा सबैमाँझ परिचित व्यक्ति भएकाले गर्दा निर्वाचनमा सहज भएको छ,’ नेपाली कांग्रेस निवर्तमान केन्द्रीय सदस्य तथा चुनावी प्रचार समिति सुनसरीका संयोजक राजीव ढुंगानाले भने, ‘यसपटक नेपाली कांग्रेसमा सबै नेता तथा कार्यकर्ता चुनावी अभियानमा संगठित र उत्साहित भएर जुट्नाले पनि सहज हुने भएको छ।’
कोइरालासहित रास्वपाका उम्मेदवार लालविक्रम थापा, नेपाल कम्यूनिष्ट पार्टीकी रामकुमारी चौधरी, एमालेका सुजन लामा, श्रम संस्कृति पार्टीका चेतन राईलगायतका २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस क्षेत्रमा एक लाख ५८ हजार ९१० जना मतदाता रहेका छन् ।
