
धरानबाट चुनिने सांसदहरू केन्द्रीय नेता बन्न नसक्दा धरान जहिले पनि पछि परेको भनी उठिरहने धरानेको गुनासो उल्लेख गर्दै सुनसरी १ बाट काँग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले यहाँबाट संसदमा नेपाली काँग्रेसले प्रतिनिधित्व गर्न नपाउँदा धरान पछि परेको मात्र होइन राष्ट्रिय गौरवका योजना समेत ल्याउने पहुँच नबनेको बताएका छन् ।

बुद्धिजीवी प्राध्यापकहरुसंग आज शनिवार बिहान भएको भेटघाटमा उनले भने ‘यहाँबाट नेपाली काँग्रेसले अहिले सम्म संसदमा प्रतिनिधित्व गर्न नपाउँदा केन्द्रीय सरकारमा धरानको पहुँच बन्न सकेन ।’ उनको भनाई थियो, गठबन्धनको राजनीतिका कारण सुनसरी १ का मतदाताले रुख चुनाव चिन्हमा भोट समेत लगाउन पाएका थिएनन् ।
राष्ट्रियता र प्रजातन्त्रको लागि भएको सङ्घर्षमा काँग्रेसका नेताहरूसँग इतिहास जोडिएको जिल्ला भएकाले सुनसरीको पहुँच केन्द्रीय तहमा रहने गरेको उनले बताए । तामाङले भने ‘पछिल्लो समय काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित अध्यक्ष गगन थापासँग पनि धरानका समस्या र आवश्यकताका बारेमा कुराकानी भएको छ ।’
धरानमा खानेपानीको समस्या मात्र होइन, धरानको आर्थिक, व्यापारी, स्थायीत्वकै पनि धेरै समस्याहरू छन् । जसको समाधानका लागि यहाँ एक भन्दा बडी राष्ट्रिय गौरवका योजना ल्याउन आवश्यक भएको उनको भनाई छ । तामाङले भने ‘सङ्घीय सरकारको नीतिमा परेको धरान तमोर सुरुङ मार्ग काँग्रेसको स्थानीय प्रतिबद्धताको प्राथमिकतामा छ ।’
सुरुङ मार्गले धरानसँग पहाडी जिल्लाको सडक सञ्जाल नजिक भई धरान पहाड र तराईको व्यापारीहब बन्ने सम्भावना बढाउने बताए । सुरुङ मागैले खानेपानी, सिचाई र विद्युतीकरणमा पनि फड्को मार्ने उनको भनाई छ ।
काँग्रेस उम्मेदवार तामाङले पार्टीले अबको प्रधानमन्त्री गगन थापा हुने घोषण गरिसकेकोले नेपालको राष्ट्रियता जोगाउन, युवाहरूको माग अनुसार स्थिर सरकारको लागि सक्षम नेतृत्व काँग्रेसबाट मात्र सम्भव भएको उनले बताए ।
उनले भने ‘सामाजिक सञ्जालमा भाइरल भएकै आधारमा देशको अवस्था र परिस्थिति बुझेका मतदाताहरू एकोहोरिन्नन् ।’ चुनावमा काँग्रेसले बहुमत सहित विजय प्राप्त गर्न निश्चित भएको उनले बताए ।
काँग्रेस चुनाव परिचाल समितिको बुद्धिजीवी उपसमिति संयोजक पूर्व प्रदेश प्रमुख प्राडा.गोविन्दबहादुर तुम्बाहाङको सभापतित्वमा भएको भेटघाटको सहजीकरण डा.जीवनकुमार राईले गरेका थिए । सहभागी प्राध्यापक, शिक्षक, बुघिजीविहरुले अहिले सम्मको अवस्थाको अनुभव सहित सुझाव राखेका थिए ।
