निर्वाचन प्रहरीको लागि सुनसरीमा तालिम सुरु

। प्रतिनिधि सभा निर्वाचनमा खटाईने प्रहरी भर्ना गरी सुनसरीमा तालिम सुरु भएको छ ।

सुनसरीमा नेपाल प्रहरीतर्फ तीन हजार १४९ जना र सशस्त्र प्रहरी बल तर्फ ४२९ जना जना गरि कुल तीन हजार ५७८ जना निर्वाचन प्रहरी लाइ तालिम सुरु भएको हो ।

जिल्लामा आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि तीन हजार ५७८ जना निर्वाचन प्रहरी भर्ना भएको छ । निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ती समितिले निर्वाचन प्रहरी भर्ना भएकाहरुलाई तालिम दिईरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सहित सात स्थानमा निर्वाचन प्रहरीको लागि तालिम सुरु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेले जनाकारी दिनुभयो ।

जिल्लाको इनरुवा सहित धरान, इटहरी, दुहवी, पकली, महेन्द्रनगर र देवानगञ्ज गरी ७ स्थानमा तालिम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय थेवेले बताउनुभयो ।

आवेदन दिएर प्रारम्भिक, लिखित र अन्तरवार्ताबाट छनौट भई भर्ना भएका सबै निर्वाचन प्रहरीलाई उनीहरूको पायक पर्ने स्थान रोज्न लगाएर तालिम हुने स्थान छुट्याइएको जनाएको छ । माघ २७ गतेसम्म तालिम हुने र त्यसपछि निर्वाचन प्रहरी ४० दिन निर्वाचनमा खटिने भएका छन् ।

छनौट भएका निर्वाचन प्रहरीहरुलाई समूह विभाजन गरेर इलाका प्रहरी कार्यालय देवानगञ्ज,इलाका प्रहरी कार्यालय दुहवी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय ईटहरी, इलाका प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रशिक्षणका लागि खटाइएको छ ।

छनौट भएका मध्ये सबै भन्दा बढी ९६४ जनालाई जिल्ला प्रहरी कार्यालयले प्रशिक्षणको लागि खटाईएको छ । सुनसरीमा चार निर्वाचन क्षेत्र रहेको छ भने यस जिल्लामा ५ लाख ८० हजार ९४५ जना मतदाता रहेको छ । जिल्लामा १६७ मतदान स्थल र ६२४ मतदान केन्द्र कायम गरिएको छ ।