
रत्नप्रसाद आचार्य । सुनसरी

सुनसरी क्षेत्र नम्बर–१ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहुप्रतिस्पर्धी र रोचक बन्दै गएको छ । प्रमुख दलदेखि वैकल्पिक शक्तिसम्मका प्रभावशाली उम्मेदवार मैदानमा उत्रिएपछि यो क्षेत्रलाई यसपटकको निर्वाचनको ‘हट स्पट’का रूपमा हेरिएको छ ।

दलहरूको उम्मेदवारको छनोट, आन्तरिक विवाद र स्थानीय भूगोलको समस्याले यश क्षेत्रको चुनावी समीकरणलाई थप जटिल बनेको छ ।
सुनसरी-१ कोहीले निर्वाचनमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्व मेयर हर्कराज राई (साम्पाङ), नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ, नेकपा एमालेबाट टिकाराम लिम्बू, नेपाली कम्युनिस्ट पार्टीबाट धरान–१७ का वडाध्यक्ष पदबाट राजीनामा दिएका मनोज भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोमा तामाङ (सरिन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उद्दव श्रेष्ठ उम्मेदवारी दिएका छन् । उम्मेदवारले आ–आफ्नो जितको दाबी गरिरहँदा मुख्य दल कांग्रेस र एमालेको उम्मेदवार छनोटलाई लिएर भने व्यापक प्रश्न उठेका छन् ।
कांग्रेसले यस क्षेत्रमा कमजोर उम्मेदवार दिएको आरोप व्यापक छ। क्षेत्रीय सभापति समेत रहेका सुजेन्द्र तामाङ कांग्रेसको आन्तरिक सिफारिस प्रक्रियामा परेका नै थिएनन् । तामाङकै अध्यक्षतामा बसेको क्षेत्रीय समितिको बैठकले उमेश थापा, माधव घिसिङ र बिनोद राईको नाम सिफारिस गरेको थियो । तर पार्टीभित्रको आन्तरिक विवाद, गुटबन्दी र केन्द्रको हस्तक्षेपका कारण अन्ततः सुजेन्द्र तामाङले टिकट पाएका छन् । यसले कांग्रेसभित्र असन्तुष्टि बढाएको छ भने कार्यकर्ताको मनोबलमा समेत असर परेको देखिन्छ ।
एमालेको अवस्था पनि उस्तै छ । सुरुमा सूर्य पन्धाकलाई टिकट दिने निर्णय भए पनि अन्तिम समयमा आएर एमालेले उम्मेदवार परिवर्तन गर्दै टिकाराम लिम्बूलाई मैदानमा उतारेको छ । टिकाराम सुनसरी–१ को भूगोलमा खासै परिचित अनुहार होइनन् । अनेरास्ववियु सुनसरीका पूर्व अध्यक्ष तथा एमाले जिल्ला सदस्य भए पनि उनी स्थानीय स्तरमा जनआधार बनाउने दौडमा पछाडि देखिन्छन् । बलियो संगठन हुँदाहुँदै पनि उम्मेदवार छनोटमा गरिएको कमजोरीले एमालेले यसपटक निर्वाचन जित्न कठिनाइ भोग्नुपर्ने विश्लेषण गरिएको छ । कांग्रेस र एमालेको यही कमजोरीबाट सबैभन्दा बढी फाइदा उठाउने सम्भावना नेपाली कम्युनिस्ट पार्टीका मनोज भट्टराई, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र रास्वपाकी गोमा तामाङ (सरिन) लाई देखिएको छ ।
मनोज भट्टराईले धरान–१७ को वडाध्यक्ष पदबाट राजीनामा दिएर संसदीय चुनावमा होमिएका छन् । स्थानीय स्तरमा सक्रिय, संगठनमा अनुभवी र स्पष्ट वैचारिक पहिचान बोकेका भट्टराईलाई नेकपाको संगठित आधारले बल पुर्याउने अपेक्षा गरिएको छ । यश पटकको निर्वाचन आफैले जित्ने मनोजको दाबी छ ।
धरानका पूर्व मेयर हर्क साम्पाङ भने फरक शैली र कडा अभिव्यक्तिका कारण चर्चामा छन् । मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका साम्पाङले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै जनतासँग मत मागिरहेका छन् । तर सुनसरी–१ को भूगोल धरान उपमहानगरपालिकामा मात्र सीमित छैन । यस क्षेत्रमा धरान बाहेक बराहक्षेत्र नगरपालिकाका वडा १ देखि ५ र रामधुनी नगरपालिकाका वडा ६ र ७ पर्दछन् । यी क्षेत्रमा साम्पाङका समर्थक न्यून भएकाले उनलाई पनि जित हासिल गर्न सजिलो देखिदैन। तर, साम्पाङले पनि यो पटकको चुनाव आफैले जित्ने बताएका छन् ।
रास्वपाकी कोशी प्रदेश अध्यक्ष गोमा तामाङ (सरिन) यस क्षेत्रकी पुरानै उम्मेदवार हुन् । अघिल्लो निर्वाचनमा राम्रो मत ल्याएर दोस्रो स्थानमा रहँदै चर्चामा आएकी सरिनले पुनः बलियो दाबी प्रस्तुत गरेकी छन् । वैकल्पिक राजनीतिको सन्देश, युवाको समर्थन र संगठन विस्तारका कारण उनी पनि प्रतिस्पर्धाको केन्द्रमा छिन् । उनले रास्वपाको देशभरी नै राम्रो जनलहर भएकोले यस पटकको चुनाव आफैले जित्ने उनको भनाई छ ।
राप्रपाका उद्दव श्रेष्ठले राजसंस्था र पहिचानको मुद्दालाई उठाउँदै आफ्ना समर्थकलाई संगठित गरिरहेका छन् । उनले दलहरुले पटक-पटक गल्ती गरेकाले यसपटकको निर्वाचन आफैले जित्ने उनको दाबी छ ।
सुनसरी–१ मा संगठनको हिसाबले एमाले, कांग्रेस, नेकपा र रास्वपाको आधार तुलनात्मक रूपमा मजबुत छ । तर यसपटक संगठनभन्दा पनि उम्मेदवारको छवि, स्थानीय पकड र दलभित्रको एकताले निर्णायक भूमिका खेल्ने देखिन्छ । कांग्रेस र एमालेले उम्मेदवार छनोटमा देखाएको कमजोरीका कारण परम्परागत दलविरुद्धको मत वैकल्पिक र वाम शक्तितर्फ मोडिन सक्ने सम्भावना प्रबल छ । उम्मेदवारी दर्ता गरेका दलहरूले चुनावी प्रचार- प्रसारलाइ तीव्र बनाएका छन् ।
