
झापा : आम निर्वाचन हारेका कृष्णप्रसाद सिटैालाको गृह जिल्लाबाट पनि नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सक्रिय सहभागी हुनका लागि आह्वान गरिएको छ ।


कांग्रेस झापा क्षेत्र नं. १ क्षेत्रीय समितिले आगामी पुस २७ र २८ मा काठमाडौँमा आयोजना हुने विशेष महाधिवेशनमा प्रतिनिधिहरूको सक्रिय, जिम्मेवार र गरिमामय सहभागिताका लागि औपचारिक अपिल गरेको हो ।
सभापति इन्द्रबहादुर बुढाथोकीले जारी गरेको आह्वान पत्रमा पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनीतिक चुनौतीहरूबारे गम्भीर निर्णय लिन यो महाधिवेशन ऐतिहासिक अवसर भएको उल्लेख गरिएको छ। अपिलपत्रमा झापा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित महासमिति तथा महाधिवेशन प्रतिनिधिहरूलाई अनिवार्य रूपमा उपस्थित भई महाधिवेशनलाई भव्य, सफल र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
बुढाथोकीले भने, “नेपाली कांग्रेस केवल राजनीतिक संगठन मात्र होइन, लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको बलियो स्तम्भ हो। यस्तो ऐतिहासिक घडीमा तपाईंहरूको सहभागिता केवल औपचारिक उपस्थितिमा सीमित छैन, पार्टीको भविष्य र देशको दिशानिर्देशनसँग प्रत्यक्ष रूपमा जोडिएको कर्तव्य हो।”
अपिलपत्रमा थप भनिएको छ, “पार्टी बलियो हुँदा देश बलियो हुन्छ। विशेष महाधिवेशनले पार्टीलाई थप जुझारु, विश्वसनीय र आम नेपालीजनमा भरोसायोग्य बनाउने नयाँ ऊर्जा प्रदान गर्नेछ। त्यसैले महाधिवेशनमा तपाईंहरूको सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।”
