छात्राहरूलाई केही छात्रहरूले जिस्क्याएपछि मनमोहन प्राविधिक विश्वविद्यालयमा तनाव

मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीहरूबीच भएको विवादले उग्र रूप लिएको छ।

५ दिन अघि पोलिटेक्निकका छात्राहरूलाई केही छात्रहरूले जिस्क्याएपछि सुरु भएको विवाद अहिले प्रशासन र विद्यार्थीबीचको द्वन्द्वमा परिणत भएको हो।

विश्वविद्यालयले केटी जिस्काएको भन्दै अभिभावकसँगको छलफल पछि ४ जना विद्यार्थीलाई निष्काशन गरेको थियो । प्रशासनले ती ४ विद्यार्थीहरूलाई १५ दिनका लागि कलेज आउन नपाउने गरी निलम्बन गरेको विश्वविद्यालय स्रोतले जनायो ।

निलम्बनमा परेकामध्ये केही विद्यार्थी र उनीहरूका अभिभावकले आफूहरू निर्दोष रहेको दाबी गरेका छन्। एक विद्यार्थीले आफू संलग्न नभएको बताए पनि अन्यले भने उनको पनि संलग्नता रहेको दाबी गरेका छन्। यसै विषयलाई लिएर विद्यार्थीहरू आक्रोशित बनेका हुन्। उनीहरुले विश्वविद्यालयको मुख्य गेट बाहिर टायर बालेर प्रदर्शन गरेका छन्।

प्रदर्शनका कारण केही समय स्थिति तनावपूर्ण बनेको थियो। यद्यपि, कलेज परिसर भित्र भने ठुलो भौतिक क्षति नभएको बताइएको छ। विश्वविद्यालय प्रशासनले अहिले एक सूचना जारी गर्दै अभिभावकहरूसँग पुनः छलफलका लागि बोलाउने तयारी गरेको विद्यार्थीहरू साँच्चै दोषी हुन् वा होइनन् भन्नेबारे थप बुझ्न र समस्याको समाधान निकाल्न प्रशासनले वार्ताको बाटो रोजेको छ। अहिले स्थिति सामान्य बनाउने प्रयास भइरहेको र थप छलफल पछि मात्र निलम्बनको बारेमा अन्तिम निर्णय हुने विश्वविद्यालयले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले पनि विश्वविद्यालयमा देखिएको तनाव साम्य बनाउनका लागि प्रहरी परिचालन गरिएको र आवश्यक समन्वय भइरहेको बताइन् । ‘चार जना विद्यार्थी निष्काशन गरेको विषयमा तनाव भएको रहेछ ।