बंगलादेशमा हिन्दु हत्या गरिएको घटनाको विरोधमा इनरुवामा बिरोध पर्दशन

बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सुनसरीको इनरुवामा प्रदर्शन भएकाे  छ ।

अल्पसंख्यक हिन्दु समुदायमाथि बंगलादेशमा भइरहेको हिंसाको विरोधस्वरूप सुनसरीका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको हो।

सुनसरीको इनरुवामामा  पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा बसचौक अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेको स्थानीय मुन्ना साहले जानकारी दिनुभयो  । केही समयका लागि प्रदर्शनका कारण  पूर्व–पश्चिम राजमार्ग  अवरुद्ध बनेको थियो ।

राजमार्ग अवरुद्ध हुँदा दुवै दिशातर्फका सवारी साधनहरू केही बेर सडकमै रोकिएका थिए । प्रदर्शनकारीहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाप्रति गम्भीर ध्यानाकर्षण गराउन तथा दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षकसँग संवाद गरी अवस्था सामान्य बनेको छ ।

सयौंको संख्यामा मानिसहरू विरोधमा उत्रेको र राजमार्ग अवरुद्ध सहित केही बेर नगरपालिकाका परिक्रमा गर्दै गोल चौकमा मैनबत्ती बालेर मृतकको आत्माको चिर शान्तिको कामना गरेको अभियन्ता शिव यादवले जानकारी दिनुभयो।