
सुनसरीको इनरुवामा महिला मानवअधिकार रक्षक संजाल सुनसरीको वार्षिक साधारण सभा सम्पन्न भएको छ। महिला अधिकारको रक्षा, हतियार र अधिकारको पक्षमा काम गर्दै आएको सञ्जाल स्थापना गरेको १० औ वार्षिक साधारण सभा सम्पन्न भएको हो।


मंगलबार सञ्जालका सुनसरी अध्यक्ष सहजादी प्रविणको अध्यक्षता र इनरुवा नगरपालिकाका उपप्रमुख विनिता कुमारी मेहताको प्रमुख आथित्यतामा उद्धघाटन सत्र सम्पन्न भएको थियो। सभामा विषेश अथिति दुहबी नगरपालिका उपप्रमुख मेनुका पोखरेल खतिवडाले महिला मानवअधिकार अभियानको एक सशक्त माध्यम सञ्जाल बनेको बताउनु भएकोछ। उहाँले गाउँ, नगर शहर संगै जिल्लादेखि समुदाय तहसम्म काम गर्ने अधिकारकर्मीहरूको संयुक्त पहलकै कारण महिला मानव अधिकार रक्षकहरूको अभियान यहाँ सम्म आएको बताउनु भयो। उहाँले निशुल्क र निस्वार्थ यस सञ्जालमा लागेको भन्दै प्रसंशा सहित साधारण सभाको सफलताको शुभकामना दिनुभयो।
त्यसैगरी अथिति इन्सेक प्रतिनिधि पत्रकार जयकृष्ण यादवले महिला अधिकारको पक्षमा आवाज उठाउने,न्याय, सत्य र सुशासनको लागि सकृय संजालको सभा सफलताको शुभकामना दिनुभयो। उहाँले जिल्लादेखि समुदाय तहसम्म काम गर्ने महिला मानव अधिकार रक्षकहरूको अभियानको प्रसंशा गर्नु भएको थियो।
इनरुवा नगरपालिकाका पुर्व उपप्रमुख जमुना गौतम पोखरेलले समेत सभा सफलताको शुभकामना दिनुभयो।
सभामा उपाध्यक्ष कौशीला चौधरी, सचिव सुशिला उप्रेती, सहसचिव विनिता दाहाल, कोषाध्यक्ष बिना चौधरी, कविता माडल, अधिकारकर्मी रिभा कर्ण, चुन्न खातुन सहितको उपस्थित रहेको थियो।

सभामा अध्यक्ष सहजादी प्रविणले महिला अधिकार रक्षक सञ्जाल वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। उहाँले प्रतिवेदनमा महिला अधिकारका लागि नेपालमा महिलाहरू ऐतिहासिक कालदेखि नै आन्दोलित भएको र उठाइएका आवाजहरूलाई संगठित गर्दै एकीकृत रुपमा महिला आन्दोलनलाई थप बलियो बनाउनुपर्ने अवस्था महसुस गरी देशव्यापी रुपमा महिला अधिकार, मानव अधिकार रक्षकहरु संगठित हुँदै महिलाहरूको साझा थलोको रुपमा विकास गर्दै देशको आवश्यकता अनुसार विभिन्न अभियानहरु गर्दै महिला अधिकार रक्षक अभियान एक सशक्त राष्ट्रिय महिला अभियानको रुपमा स्थापित हुँदै गएको उल्लेख गर्नु भएको छ।
महिला मानव अधिकारकर्मीहरूको सामूहिक आवाज महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय अभियान हो। महिला हिंसा, महिला अधिकार र विभेदका विरुद्ध काम गर्ने अधिकांश महिला अधिकारकर्मीहरूको दिनप्रतिदिन जोखिम बढ्दै गइरहेको परिस्थितिमा महिला मानव अधिकार कर्मीहरु अझ बढी संगठित र बलियो बन्दै जानका लागि महिला मानवअधिकार अभियान एक सशक्त माध्यम बनेको छ। जिल्लादेखि समुदाय तहसम्म काम गर्ने अधिकारकर्मीहरूको संयुक्त पहलकै कारण महिला मानव अधिकार रक्षकहरूको अभियान दायरा फैलिँदै गएको छ। यसका लागि ७७ वटा जिल्लामा सञ्जालहरू विस्तार भइसकेका छन् यो अभियानलाई संस्थागत गरी व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय तहमा राष्ट्रिय सञ्जालले कार्य गरिरहेको छ भने जिल्ला तहमा जिल्ला तहका विभिन्न संघसंस्था मार्फत महिला अधिकारका क्षेत्रमा कार्यरत महिला अधिकारकर्मीहरूको संयुक्त अगुवाइमा सञ्चालित निर्माण गरी समन्वय गरिरहेका छन्।
सुनसरी जिल्लामा पनि मिति २०७२ सालमा स्थापना भई महिला हिंसा र महिला मानव अधिकारको क्षेत्रमा स्थापनाकाल देखि नै क्रियाशिल रहदै आइरहेको छ। सुनसरी जिल्लाको कोसी, भोक्राहा, दुहबी नगरपालिका गरी जम्मा ३ वटा स्थानीय तहमा पालिकास्तरीय महिला मानव अधिकार रक्षक सञ्जाल स्थापना गरेको छ । महिला मानव अधिकार रक्षक सञ्जालले सुनसरी जिल्लामा भरी स्थानिय तहहरूमा समन्वय सहकार्य गरी हिंसा प्रभावित महिलाहरूलाई सहजीकरण गर्ने, समुदायमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, लैगिक हिंसा विरूद्दमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ। प्रतिबेदन अनुसार यस आर्थिक वर्षमा सम्पन्न गरेका क्रियाकलापहरु, बहुविवाह विरूद्धको प्रस्तावित मस्यौदा सम्बन्धि ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएको ,स्थानीय स्तरमा र जिल्ला स्तरमा लैगिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा कार्यक्रम सञ्चालन , मासिक बैठक जम्मा ७ वटा बसेको, बाढी प्रभावित क्षेत्र कोसी र भोक्राहा नर्सिङमा अवस्था विश्लेषण गरी स्थानीय तहसंग छलफल गरेको ,युवा महिलाको क्षमता अभिवृद्धी सम्बन्धी तालिममा उदयपुर २ जनालाई पठाएको, भूमिमा महिलाको पहुच सम्बन्धी तालिममा २ जनालाई पठाएको , हिसाब केसको बारेमा प्रहरी कार्यालयसंग छलफल तथा सहजीकरण गरेको छ।
तथ्याङ्क विवरण अनुसार घरेलू हिंसा १०६ वटा, जर्बरजस्तीकरणी , साइबर अपराध ७ वटा,सम्बन्ध विच्छेद ३१ वटा र आत्महत्या १४ वटाको अभिलेख गरेको छ।
