मधेसको राजनीतिमा उपेन्द्र जीको उचित मूल्यांकन र उपयोग भएन

मधेसको राजनीतिमा उपेन्द्र जीको उचित मूल्यांकन र उपयोग भएन । उहाँमा बिद्रोह तथा आन्दोलनको नेतृत्व गर्ने ठूलो क्षमता छ। राष्ट्रिय राजनीतिका चलाखहरू तथा मधेसका टाठाबाठाहरूले नियतबश उहाँलाई सत्ता राजनीतिको कित्तामा पुर्याईदिए। यसो गर्नेहरूले मधेस आन्दोलनको धारलाई सत्ता राजनीतिबाट प्रदुषित गर्नका लागि गरे ।
विगतका बर्षहरू साक्षी छन्-उपेन्द्र जी जब जब सत्ताबाट बाहिर रहनु भयो, आन्दोलन हाक्नु भयो। सत्तामा जानु भयो, आन्दोलन बिर्सनु भयो। मधेसबाट संसदमा जानेहरू अनेक छन् । तर आन्दोलन हाक्नेहरू छैनन्। संसदको गफाडी राजनीतिमा सप्तरी कै सिके राउत, जय प्रकाश ठाकुर वा अरू जो भएपनि हाजिरी बजाउन सक्छन्। तर तिनीहरू उपेन्द्र जी को तुलनामा आन्दोलनको नेतृत्व गर्न सक्दैनन् ।
आज मधेस राजनीतिलाई पुनः नयाँ धारमा हिडाउनु परेको छ। यो आन्दोलनको धार हो र, आन्दोलनको अन्तरबस्तु स्वयं उपेन्द्रले भन्नु भए झैं “संविधानको पुनर्लेखन” नै हो । “संविधानको पुनर्लेखन” को लागि हुने आन्दोलनमा उपेन्द्र जी ले अतुलनीय योगदान दिन सक्नु हुन्छ। यसका लागि उहाँमा आन्दोलनमुखी अर्जुनदृष्टि हुनु जरूरी छ। संसदमा उहाँको उपस्थितिले सो अर्जुनदृष्टि कदापि पनि बन्न सक्दैन। बिरालोले मुसासंग दोस्ती गर्न सक्दैन। खान्छ खान्छ। उपेन्द्र जी संसदमा जानु भयो भने सत्ता बेगर बस्नै सक्नु हुन्न् । मंत्री नै बन्नु हुन्छ। मंत्री रहेपछि आन्दोलन र “संविधानको पुनर्लेखन” को कुरा हराउँछ ।
अहिले सप्तरी-२ का मतदाताहरूको हातमा राम्रो मौका परेको छ । सप्तरी आन्दोलनको जिल्ला हो। यसर्थ मधेस आन्दोलनलाई पुनः अग्लो उचाईमा पुर्याउनु छ भने यस निर्वाचनमा उपेन्द्र जीलाई ससम्मान बिदा गर्न उहाँलाई मत नदिएर हराई दिनु पर्छ। यसो गर्न सकेपछि मात्र मधेस आन्दोलनको धार सडकमा रहेका उपेन्द्रबाट बन्न सक्छ । उपेन्द्र जीलाई हराएर मधेसलाई आन्दोलनको बाटोबाट बिजयी गराउन सप्तरी-२ का मतदाताहरूले अवश्य बिचार गर्नु हुनेछ।