
सुनसरी । सुनसरी क्षेत्र नं. ४ मा नेपाली कांग्रेसले गरेको उम्मेदवार सिफारिसले पार्टीभित्र विवाद चर्किएको छ। प्रत्यक्षतर्फ ज्ञानेन्द्र बहादुर कार्की र गफार अंसारीको नाम सिफारिस भएपछि स्थानीय कार्यकर्ता तथा नेतामाझ असन्तुष्टि बढेको छ।

त्यस्तै समानुपातिकतर्फ कोशी गाउँपालिका अध्यक्ष तथा क्षेत्रीय सभापति ऐयुव अंसारीकी पत्नी नग्मा साहिद अंसारीको नाम सिफारिस गरिएको छ। साथै अमेरिकामा बसोबास गर्दै आएका उपेन्द्र बहादुर कटुवाललगायत अन्य केही व्यक्तिको नाम पनि उम्मेदवारका रूपमा सिफारिस भएपछि पार्टीभित्र यसले व्यापक चर्चा पाएको छ।
उम्मेदवार छनोट प्रक्रियामा लामो समयदेखि पार्टीका लागि सक्रिय रहेका, २४ घण्टा संगठनमा खटिएका कार्यकर्तालाई बेवास्ता गरिएको आरोप लागेको छ। यसै कारण सुनसरी क्षेत्र नं. ४ मा नेपाली कांग्रेसभित्र गुटबन्दी सुरु भएको कार्यकर्ताहरूको भनाइ छ। एक पक्षले आधिकारिक उम्मेदवारलाई सहयोग नगर्ने मनसाय बनाइरहेको चर्चा समेत चल्न थालेको छ।
दुई पटक संघीय संसद् जितेकाको पुनः नाम सिफारिस, पालिका अध्यक्षको श्रीमतीको नाम अगाडि ल्याइनु, दुई पटक पालिका अध्यक्ष जितेकाको नाम र विदेशमा बसोबास गर्ने व्यक्तिको नाम सिफारिस गरिएकोप्रति कार्यकर्ताहरू आक्रोशित बनेका छन्। नाम नखुलाउने सर्तमा एक कार्यकर्ताले भने, “सबै ठाउँ उहाँहरूलाई नै चाहिएको छ। बाँकी कार्यकर्तालाई भोट खसाल्ने माध्यम मात्र बनाइएको छ। आफैं र आफ्नो परिवारलाई मात्र अगाडि बढाउने प्रवृत्ति देखियो। म १७ वर्षदेखि पार्टीको काममा लागिरहेको छु, तर एउटा वडा अध्यक्षको टिकटसमेत पाएको छैन।”

स्थानीय नेताहरूका अनुसार नेपाली कांग्रेस सुनसरीमा ज्ञानेन्द्र बहादुर कार्कीको प्रवेश र केदार भण्डारी सभापति बनेयता पार्टीभित्र बेला–बेलामा भाँडभैलो देखिँदै आएको छ। पछिल्लो उम्मेदवार सिफारिसले सो विवादलाई अझ गहिरो बनाएको उनीहरूको विश्लेषण छ।
