यशोदा फुड्स नेपालकै पहिलो ‘ग्रिन नुडल्स’ उद्योग

विराटनगर । ‘करेन्ट’ चाउचाउको उत्पादक यशोदा फुड्सले कपिलवस्तुको चन्द्रौटास्थित आफ्नो कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार परियोजना जडान

गरी सञ्चालनमा ल्याएको छ ।कम्पनीले २०२५ नोभेम्ब २३ बाट सौर्य ऊर्जामार्फत बिजुली उत्पादन सुरु गरेर नेपालकै पहिलो सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन उद्योग बनेको छ।

कम्पनीले ‘नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी’ को उपाधिसमेत पाएको छ । कपिलवस्तु औद्योगिक करिडोरभित्र छानामाथि सौर्य नवीकरणीय ऊर्जा प्रयोग गर्ने पहिलो उद्योगसमेत बनेको कम्पनीले जनाएको छ ।

प्लान्टमार्फत उद्योगको करिब ८० प्रतिशत बिजुली आवश्यकता पूरा हुने उद्योगले जनाएको छ । यसले विद्युत् खर्च ६५ प्रतिशतले घट्ने र कार्बन उत्सर्जनमा उल्लेख्य कमी आउने कम्पनीको दावी छ ।

यो परियोजना प्राइम रिन्यूएवल्स प्रालिले निर्माण गरेको हो। वित्तीय व्यवस्थापन एनएमबी बैंकले गरेको छ भने जर्मन अनुदान अन्तरगत डीकेटीआई परियोजनाबाट वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले व्याज अनुदानसहित सहयोग प्रदान गरेको हो।

ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जीपी शाहले ८५६ केडब्ल्यूपी क्षमताको प्लान्टबाट वार्षिक १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुने र करिब २,००० टन कार्वन उत्सर्जन बचत हुने बताए । यसले करेन्ट नुडल्सलाई दिगोपनाको दिशातर्फ अघि बढाउँदै उत्पादन लागत घटाएर प्रतिस्पर्धात्मक बन्न मद्दत गर्ने उनको दावी छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यक्रम प्रमुख सन्तोष राईले यस्ता परियोजनाले नेपाली उद्योगलाई डिकार्बोनाइजेसनतर्फ उन्मुख गराउने बताए । प्राइम रिन्यूएवल्सका अध्यक्ष आशिष गर्गले तीन महिनामै परियोजना सम्पन्न गरिएको बताउँदै बाइफेसियल सोलार प्यानल र एआई–सक्षम स्मार्ट इनभर्टर प्रयोग गरिएको जानकारी दिए।

नेपालमा आवासीय, औद्योगिक र युटिलिटी स्केल सौर्य प्रविधिको प्रयोग तीव्र रुपमा बढ्दै गइरहेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार हालसम्म २५ मेगावाट संयुक्त क्षमताका ५० भन्दा बढी उद्योगले रूफ–टप सोलार जडान गरिसकेका छन् ।हाम्रोमत