
विराटनगर । विराटनगरमा जेनजी पुस्ताले चलाइरहेको आन्दोलन मंगलबार बिहानैदेखि उग्र बनेको छ । प्रदर्शनकारीहरू कोशी प्रदेशसभा भवनभित्र पस्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो ।

सयौंको संख्यामा रहेका युवाहरू पूर्व र पश्चिम दुवै दिशाबाट प्रदेशसभा सचिवालयतर्फ अघि बढेपछि प्रहरीसँग धक्का–मुक्की सुरु भएको थियो । ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरिएको जनाएको छ । लाठीचार्जसमेत गरिएको छ ।
कोशी प्रदेशसभा प्रवेश गर्न खोजेपछि दोहोरो झडप भएको छ । आन्दोलनकारीहरूले विराटनगर बजार जबर्जस्ती बन्द गराएका छन् । उनीहरूले सडकमा टायर बाल्दै विरोध प्रदर्शन चर्काएका छन् भने यातायात पनि अवरुद्ध भएको छ । जलजला चोकमा रहेको प्रहरी बिटमा आगजनी गरिएको छ भने एक मोटरसाइकलमा समेत आगजनी भएको प्रहरीले जनाएको छ ।
प्रदेशसभा सचिवालय अगाडि कर्फ्यु तोडेर अगाडि बढेका युवाहरूमाथि प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी झन् उग्र बनेका छन् । प्रहरीले अश्रुग्यास प्रहारसँगै लाठीचार्ज गरी भिडलाई तितर–बितर गर्न खोजेको छ । प्रदर्शनकारीहरूले पनि निरन्तर सडकमा नाराबाजी गरिरहेका छन् ।