
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले प्रधानमन्त्रीले ७ बुँदे सहमति अनुसार सरकार सञ्चालन नगरेकोले एक वर्षको अवधिमा एउटा पनि बुँदा अगाडि बढ्न नसकेको टिप्पणी गरे ।
संविधान संशोधन वा पुनरावलोकनको चर्चासमेत हराएको भन्दै कोइरालाले त्यसका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिले बनाउने भनेको कमिटीसमेत अझै गठन हुन नसकेको उल्लेख गरेका छन् ।
सुशासनको विषयमा कांग्रेसभित्र आफूले जति अरु कसैले नबोलेको जिरिक गर्दै उनले लिची बगानको कुरा वा पोखराको जग्गा प्रकरणमा मन्त्रीले राजीनामा दिनुपरेको प्रसंग जोड्दै उनले राजनीतिमा नैतिकताको अपरिहार्यतामा जोड दिए।
सरकारले आफ्नो अकाम जनतालाई पुष्टि गर्न सक्नुपर्ने र त्यसो भएमात्रै सफल मानिने उनको भनाइ छ । संवैधानिक परिषद्मा दुई वा तीन जनाले मात्रै निर्णय गर्नसक्ने गरी पारित भएको बिधेयकलाई ‘खतरनाक’ भन्दै कोइरालाले त्यसले शक्ति पृथकीकरणको सिद्धान्तलाई पनि वेवास्ता गरिएको बताए । राष्ट्रपतिले विधेयकलाई पुनरावलोकनका लागि फिर्ता पठाएकोले त्यसमा थप छलफल हुनुपर्ने उनको भनाइ छ ।
डा.कोइरालाले हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वराष्ट्रपति विद्या भण्डारीलगायतका नेताहरूसँगको भेटघाट सामान्य राजनीतिक भेट मात्र भएको बताएका छन् । नेताहरुलाई भेट्नु कुनै नयाँ कुरा नभएको भन्दै उनले नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा हुँदा पनि आफूले केपी ओलीलाई भेट्ने गरेको स्मरण गराए ।
डा.कोइरालाले पार्टीको संसदीय दलको नेता फेर्नका लागि आवश्यक संख्या नपुगेको भन्दै अहिले यस विषयमा हतार गर्न नहुने बताएका छन् । संसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने कुरामा उनले जोड दिए । नेपाली कांग्रेसको महाधिवेशन २०८२ मै हुनुपर्नेमा आफू अडिग रहेको भन्दै कोइरालाले त्यसमा तलमाथि हुन नहुने बताए ।
भूमि सम्बन्धी विधेयकलाई एमालेले ुआजको आजैु संसदबाट पास गर्नुपर्ने भने पनि नेपाली कांग्रेसका महामन्त्रीद्वय र अन्य १५ जना सांसदहरूले संशोधन प्रस्ताव हालेको कोइरालाले जानकारी दिए । आफूहरू भूमि सम्बन्धी विधेयकलाई विषयगत समितिमा लगेर छलफल गरी त्यहाँबाट आउने निर्णय मान्न तयार रहेको उनको भनाइ थियो ।