काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय सूचना सम्प्रेषणले पत्रकारितामाथि धावा बोलेको टिप्पणी गर्नुभएको छ ।
पत्रकारिताको आवरणमा गलत क्रियाकलाप रोक्न काउन्सिलले तदारुकता देखाइरहेको उहाँले बताउनुभयो । शुक्रबारदेखि विविध मातृभाषामा समाचार दिन थालेको एक अनलाइनलाई शुभकामना दिने क्रममा अध्यक्ष बस्नेतले अबको पत्रकारिता प्रविधिमैत्री र रचनात्मक हुनुपर्ने सुझाव राख्नुभयो ।
‘आजको डिजिटल दुनियाँमा प्रविधिमैत्री र सबैले अपनत्व लिने माध्यम भएमात्र पत्रकारिता फस्टाउँछ । समाचारका प्रस्तुतिमा फरकपन ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘तथ्य र आधारहीन, एकपक्षीय र हावादारी प्रस्तुतिले पत्रकारितामाथि धावा बोलेको छ । यसलाई रोक्न विश्वसनीय र रचनात्मक पत्रकारिताको खाँचो छ । अबको पत्रकारिताको धार यसतर्फ केन्द्रित हुनैपर्छ ।’ प्रेस काउन्सिलले तीन महिना यता रचनात्मक र समाधानमुखी पत्रकारितालाई सबै समाचार कक्षमा लागू गराउन विशेष अभियान थालेको छ ।
मिडियाको दुरुपयोग गर्दै आधारहीन, अश्लील र एकपक्षीय सामाग्री प्रकाशन गर्ने युट्युबसहित विभिन्न माध्यममाथि कडा निगरानी गर्दै आएको छ । काउन्सिलले युट्युब व्यवस्थापनसम्बन्धी बेग्लै कार्यविधि बनाई नियमन गर्दै आएको छ ।
दशैं अघि मात्रै काउन्सिलले ४३ वटा युट्युबलाई कारवाही गरेको थियो । कुशल अधिवक्ता समेत रहेका अध्यक्ष बस्नेत नेतृत्वको काउन्सिलले थालेको यो काम दक्षिण एशियामै पहिलो उदाहरण हो ।