अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर अमर प्रहरीहरु प्रति श्रद्धासुमन

असोज २९ गते । अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर अमर प्रहरीहरु प्रति कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर परिसरमा ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

आज मंगलबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा अमर प्रहरीहरु प्रति कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा श्रद्धाञ्जली अर्पण गरिएको हो ।


श्रद्धाञ्जली कार्यक्रममका प्रमुख अतिथि नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाको आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो ।

श्रद्धाञ्जली समारोहमा कर्तब्य पालनाको सिलसिलामा गत बर्ष वीरगति प्राप्त गर्नु हुने मोरङ ग्रामथान गाउँपालिका–४ का स्वर्गीय प्रहरी हवल्दार पाण्डव कुमार माझीको श्रीमती सुनिता कुमारी माझी र सुनसरी धरान उप–महानगरपालिका–१७ का स्वर्गीय प्रहरी जवान सौगात थापाको आमा सीता थापालाई कार्यक्रमका प्रमुख अतिथि सापकोटा तथा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले दोसल्ला ओढाउनु भई नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त नगद सहित कदर पत्रद्वारा सम्मान गर्नु भएको थियो भने नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी सचिव सृजना नेपाल दाहाल लगायत संघका अन्य पदाधिकारीहरुले उपस्थित अमर प्रहरीका परिवारजनहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


उक्त कार्यक्रममा प्रमुख अतिथि सापकोटाले अमर प्रहरीको वलिदान अविस्मरणिय रहेको बताउँदै आफ्नो जिम्मेवारी निर्वाहको क्रममा प्राण उत्सर्ग गर्नु हुने साहसिक अमर प्रहरी तथा वीर सपुतहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै अग्रज तथा कर्तव्य पालनाको सिलसिलामा अमरत्व प्राप्त गर्नु हुने अमर प्रहरीको योगदान सगर्व स्मरण गरिरहनु पर्ने बताउनुभयो ।


साथै कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको आतिथ्यतामा सिनियर प्रहरी अधिकृतहरु सहित प्रहरी कर्मचारीहरु, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु, पूर्व प्रहरी कर्मचारीहरु एवं अमर प्रहरीका परिवारजनहरु समेतबाट अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर अमर प्रहरीहरु प्रति श्रद्धासुमन अर्पण गरिएको प्रमुख अतिथि कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिनुभयो ।