विजयादशमी नजिकिए सँगै सुनसरीको विभिन्न हाट बजारमा खसीबोकाको माग बढ्दै

सुनसरी । महान् चाड विजयादशमी नजिकिएसँगै सुनसरीको विभिन्न हाट बजारमा खसीबोकाको माग बढ्दै गएको छ ।

विजयादशमीमा विभिन्न शक्तिपिठहरुमा बली प्रथा तथा चाडबाड मान्नको लागि स्थानीयवासीहरू खसीबोका किन्नमा व्यस्त देखिएका हुन् ।

सुनसरीका विभिन्न शक्तिपिठहरुमा खसीबोका बली दिने पुरानो परम्परा अझै पनि उत्साहपूर्वक मनाउँदै आइरहेको हो ।

सुनसरीका विभिन्न शक्तिपिठहरुमा इनरुवाको काली मन्दिर, दुहबीको काली मन्दिर, धरानको दन्तकाली मन्दिर, हरिनगरा गाउँपालिकाको जोगिनियाँ माई मन्दिर तथा इनरुवाको वबियामा रहेको भगवती मन्दिरमा खसीबोकाको वली दिने चलन हुँदै आइरहेको छ ।

दसैँको अवसरमा यी शक्तिपिठहरुमा भक्तजनहरूको घुइँचो बढेसँगै जसमा उनीहरूले देवीलाई खसीबोका चढाएर आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको इनरुवाका स्थानीय दिपेन्द्र यादवले बताए ।

विजयादशमीको लागी कोशी प्रदेशको सङ्खुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर, सुनसरी, मोरङ लगायत ग्रामीण क्षेत्रका पशुपालक कृषकहरूले बिक्रीका लागि सुनसरीको धरान, बाँगेंबजार, इनरुवा, दुहबीको मालहट्टी लगायतमा रहेको पशु कृषि बजार स्थलमा खसीबोका ल्याएर विक्री वितरण गर्ने गरेका छन् ।

स्थानीयका अनुसार विगत केही वर्ष अघि खासै खरिद विक्री नभएको बजारमा अघिल्लो वर्षको तुलनामा यस वर्ष बली प्रथाको लागि खसी, बोका ४० प्रतिशत भन्दा बढी बजारमा विक्रीका लागि ल्याएको दुहबीका व्यापारी मुस्तकिम मियाले जानकारी दिनुभयो ।

बिक्रीका लागी बजारमा आएका खसीबोका बिचौलियाको कारणले वास्तविक मूल्य भन्दा दोब्बर मूल्य बढेको गुनासो उपभोक्ताहरूले गरेका छन् । चाड थालनीसँगै बजारमा खसी बोका खरिद गर्नेको भिड लागेको छ । प्रति गोट्टा ५ हजार रुपैयाँ देखि देखि ४० हजार रुपैयाँ सम्मको खसी बोका खरिद बिक्री भइरहेको दुहबी मालहट्टीका अर्का स्थानीय इस्माइल मियाले बताए ।

यस वर्ष कृषकहरू पनि कृषिमा आकर्षण बढेकाले खसीबोकाको कारोबार पनि बढेको बताइरहेका छन् । कृषकले पालेको खसी तथा बोका खरिद गर्न गाउँ गाउँ नै खरिदकर्ता पुग्ने गरेका कारण पनि दशैको पूर्व सन्ध्यामा खसीको भाउ आकासिएको पाइएको छ ।

विगतमा जिउँदो खसीबोका प्रति केजी ६ सय सम्म खरिदबिक्री हुने खसी बोका प्रति किलो हाल ७ देखि ८ सय रुपैयाँसम्म लिने गरेको बजारमा खसी खरिद गर्न आएका उपभोक्ताहरूको भनाइ रहीआएको छ । यसो त दशै तिहारमा अन्य सब्जी जन्य सामाग्री भन्दा खसी बोका बढी विक्री हुने गरेकाले कृषकका हितलाई ध्यानमा राखेर कृषकको हितलाई मध्यनजर गरी बजारमा काँटादेखि लिएर अन्य सुविधा दिएपनि खासै सुधार हुन नसेको कृषि बजार इनरुवाका व्यापारी साहिल मियाँको तर्क रही आएको छ ।

काँटा तराजुबाट तौलिएर बेच्नेको सङ्ख्या १५ प्रतिशत मात्र हुने गरेको र हुण्डीमुण्डी मूल्य तोकेर ८५ प्रतिशतले विक्री गर्ने गरेका कारण पशुपालक किसानले सोचेजस्तो मूल्य नपाइरहेको खरिदकर्ताहरूले बताए ।