रेडियो नेपाल र नेपाल टेलिभिजनलाइ सार्वजनिक प्रसारण सेवामा रुपान्तरण गरि एउटै ब्यबस्थापन

जनार्दन विष्ट – रेडियो नेपाल र नेपाल टेलिभिजनलाइ सार्वजनिक प्रसारण सेवामा रुपान्तरण गरि एउटै ब्यबस्थापन अन्तर्गत सञ्चालन गर्ने लामो समयदेखिको प्रयासले मूर्त रुप पाएको छ ।

राष्ट्रपतिबाट सो सम्बन्धि बिधेयक आज प्रमाणीकरण भएसंगै नेपालको प्रसारण क्षेत्रमा अव नितान्त नयाँ अभ्याशको थालनी हुने छ ।

सैद्धान्तिक रुपमा सरकारी, ब्यावसायिक, राजनैतिक एवं सवै प्रकारको दवाव र प्रभावबाट मुक्त रही आर्थिक रुपले समेत स्वायत्त ढंगले सञ्चालन भइ प्रत्यक्ष रुपमा जनताप्रति उत्तरदायी हुनुपर्ने यसको मर्मलाइ नयाँ ऐनले के कति सुनिश्चित गर्न सकेको छ त्यो यसको शुरुवाती अभ्याशबाट प्रष्ट हुने छ ।

ऐनका छिद्रहरु पहिल्याँदै हुने गरेका गलत अभ्याशहरुले अव निरन्तरता पाउने छैन भन्ने आशा गर्न सकिन्छ । विश्वमा अन्यत्र धेरै पहिला देखि अभ्याश हुँदै आएको सार्वजनिक प्रसारण सेवाको मोडल नेपालमा भने जनस्तरमा मात्र होइन पत्रकारिता जगतमा पनि नयाँ विषयकै रुपमा रहेको छ । यस्तो अवस्थालाइ ध्यानमा राखि यो विधयेक प्रतिनिधि सभामै रहेको अवस्थामा रेडियो नेपालले सार्वजनिक प्रसारण सेवाको बारेमा अधिकतमा जानकारी दिन एउटा रेडियो कार्यक्रमको उत्पादन तथा प्रसारण समेत गरेको थियो ।

तत्कालिन कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी. र नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीको पहलमा म स्वयं र मुख्य कार्यक्रम अधिकृत राजन कार्की मिलेर उत्पादन गरेका कार्यक्रमका सवै अंकहरु तलको लिंकमा पाउन सकिन्छ । नेपालमा सार्वजनिक प्रसारण क्षेत्रमा उठेका वहस र यसको भावि मार्ग चित्रमा यस संग सम्बन्धित प्राय सवै विज्ञहरुको अन्तवार्ता ती प्रस्तुतिहरुमा समेटिएका छन् ।

अन्तर्वार्तामा समेटिएका अतिथिहरुमा तत्कालीन सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्मा, विज्ञहरु डा. कुन्दन अर्याल, डा. सुरेश आचार्य, डा. महेन्द्र विष्ट, डा. घमराज लुइंटेल, तारानाथ दाहाल, लक्ष्मण उप्रेति, राधेश्याम अधिकारी लगायत हुनुहुन्छ ।