आर्सनल युरोपा लिगको नकआउट चरणमा, युनाइटेडले प्लेअफ खेल्नुपर्ने

काठमाडौं । इंग्लिस क्लब आर्सनल युरोपा कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा ज्युरिचलाई १–० ले पराजित गर्दै आर्सनल समूह ए को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको हो । आर्सनलका लागि काएरन टिर्नेले गोल गरे ।

आर्सनलले ६ खेलबाट १५ अंक जोड्यो । बोडोरग्लिम्टलाई २१ ले पराजित गरेको पिएसभी आइन्डहो भने १३ अंक जोडेर दोस्रो स्थानमा रह्यो । पिएसभीले अब युरोपा लिगको नकआउट चरणमा प्रवेशका लागि प्लेअफ खेल्नुपर्नेछ ।

यस्तै अर्को इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले युरोपा लिगमा समूहको अन्तिम खेलमा स्पानिस क्लब रियल सोसिडाडलाई १–० ले हरायो । जितका बाबजुत पनि युनाइटेड समूह ‘ई’ को विजेता भने बन्न सकेन र सिधै नकआउट चरणमा पुग्ने अवसर गुमायो । युनाइटेड र सोसिडाडको समान १५ अंक भएपनि गोल अन्तर अघि रहँदै सोसिडाड अन्तिम १६ मा प्रवेश गर्‍यो । अब युनाइटेडले भने अन्तिम १६ मा प्रवेश पाउनका लागि प्लेअफ खेल्नुपर्नेछ ।

युरोपा लिगमा ८ समूहका समूह विजेताहरु सिधै अन्तिम १६ मा प्रवेश गरेका छन् । ८ समूहका उपविजेताले भने युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा तेस्रो हुँदै युरोपा लिगमा घटुवा भएका ८ टिमसँग प्लेअफ खेल्नुपर्नेछ । त्यसबाट विजेता टिम युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्ने छन् ।
श्रोत ः अनलाइन खबर