सुनसरी प्रहरी प्रमुखका रूपमा सुमन कुमार तिम्सिना

सुनसरी प्रहरी प्रमुखका रूपमा सुमन कुमार तिम्सिना आएका छन्।

तिम्सिना आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

भारतसँग खुला सीमा जोडिएको सुनसरी शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानका हिसाबले निक्कै चुनौतीपूर्ण मानिन्छ । शान्ति सुरक्षाका दृष्टिकोणबाट चुनौतीपूर्ण मानिने सुनसरीको कोशी ब्यारेजदेखि केसलिया खोलासम्म भारतसँग ६२ किलोमिटर खुला सीमा छ । नेपाल–भारत निर्वाध आवतजावत हुने सुनसरी त्यसै पनि अपराधिक घटना धेरै हुने जिल्लाभित्र पर्छ ।
सुनसरीमा बेलाबखत बल्झिरहने विभिन्न समुदायबीचको विवाद, चोरी तस्करीलगायतका विभिन्न अपराध नियन्त्रण नेपाल प्रहरीका लागि चुनौतीपूर्ण हुन्छ । शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि चुनौती नै चुनौती रहने सुनसरीको प्रहरी प्रमुखका रूपमा एसपी सुमनकुमार तिम्सिनाको सरुवा भएको छ ।
यसअघि सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मी थिए । उनका ठाउँमा तिम्सिनालाई पठाएको हो । अब सुनसरीको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानको कमाण्ड तिम्सिानाले सम्हाल्ने छन् । तिम्सिना नेपाल प्रहरीभित्र काविल, निष्ठावान, इमान्दार र कर्तव्यनिष्ठ छवि बनाएका प्रहरी अधिकृत भनेर चनिन्छन् । उनी आइतबार कार्यालयमा हाजिर भएर कार्यभार सम्हाल्ने तयारीमा छन् ।
सुनसरीमा यसअघि प्रहरीले गरेका कामकारबाहीको समीक्षा गर्दै नयाँ र रचनात्मक ढंगबाट अघि बढेर शान्ति सुरक्षाको अवस्था मजवुत बनाउने जिम्मेवारी उनको काँधमा रहने छ । एसपी तिम्सिनाले आमनागरिकको सेवामा २४ घण्टा नै प्रहरी परिचालन गरेर जनचाहना बमोजिम सेवा प्रदान गर्ने एवं नागरिक–प्रहरी सम्बन्ध सुधार एवं अपराध नियन्त्रण र अनुसन्धानमा आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।
सबै पक्षको साथ र सहयोग लिएर प्रहरीले कामकारबाही गर्ने उनको भनाइ छ । ‘शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा कुनै सम्झौता हुने छैन,’ उनी भन्छन्, ‘प्रहरीले हाम्रै लागि काम गरिरहेको छ भन्ने छाप आमनागरिकमा छाड्नुपर्ने हुन्छ ।’ आफ्नो कार्यकालमा प्रहरीले जनताको विश्वास जित्ने गरी काम गर्ने तिम्सिना बताउँछन् ।
यद्यपि, जनताको जीउधनको रक्षा गर्न, अपराध नियन्त्रण र अनुसन्धानमा सफलता प्राप्त गर्न, पुराना मुद्दाको फछ्र्यौटमा ध्यान दिन, दैनिक काम कारबाहीलाई चुस्त बनाउन, खुला सीमाको फाइदा उठाएर हुने सीमा अपराध नियन्त्रणमा भूमिका खेल्न, चोरी–तस्करी रोक्न, लागुऔषध तथा हतियारको अवैध धन्दा नियन्त्रण गर्न, भारतीय काउन्टर पार्टससँग समन्वय गरेर सुरक्षाको अवस्थालाई मजवुत बनाउन उनका लागि केही चुनौती हुनसक्ने देखिन्छ । हुन त तिम्सिनाले पहिलोपटक तराईको जिल्लामा इन्जार्जको जिम्मेवारी पाएका हुन् । उनी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए । ‘युनाइटेड नेशन’अन्तर्गतको युद्धग्रस्त ‘मिसनहरुमा सभिल पुलिस’का रुपमा ३ पटकसम्म सहभागी भइसकेका उनी दक्ष र अनुभवी प्रहरी अधिकृत मानिन्छन् ।
डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय पाल्पाको १ वर्ष बढी कमाण्ड सम्हालेका उनमा सुनसरीकै इलाका प्रहरी कार्यालय धरानको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेको अनुभव पनि छ । धरानमा कार्यरत रहँदा नेपाल सरकारले प्रदान गर्ने ‘साहसिक प्रहरी अवार्ड’ ‘नेपाल प्रताप भूषण’बाट सम्मानित भइसकेका तिम्सिना झापाको काँकडभिट्टाका बासिन्दा हुन् ।
द्वन्द्वकालमा लामो समय ‘फिल्ड अप्रेशन रोल’मा विवादरहित ढंगबाट काम गरेको अनुभवसमेत उनीसँग छ । तिम्सिनाले इलाका प्रहरी कार्यालयहरु इटहरी, दुहबी तथा इटहरीमै रहेको तत्कालीन क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा समेत काम गरिसकेका छन् । यसअघि सुनसरीका विभिन्न युनिटमा काम गरिसकेका कारण जिल्लाको चुनौती र शान्ति सुरक्षामा देखा पर्ने समस्याका बारेमा उनी जानकार छ । लागुऔषधको कारोबार एवं बढ्दो ओसारपसार, सिमावर्ती समस्या, घरेलु हिंसादेखि विभिन्न अपराध र जातीय एवं धार्मिक संवेदनशीलतालगायतका विषय जिल्लाको चुनौती रहेको तिम्सिनाको भनाइ छ । सुनसरी प्रहरी प्रमुख बनेर आउनलाई धेरै जना एसपीहरु दौडमा थिए । तर, प्रहरी प्रधान कार्यालयले जिल्लाको कमाण्ड सम्हाल्ने जिम्मेवारी तिम्सिनालाई दियो । विभागीय विश्वासका कारण आफूले जिम्मेवारी पाएको र कुनै ‘पावर’ लगाएर सुनसरी नआएको उनले बताए ।

कोशीबाट भयो ५ एसपी र १५ डीएसपीको सरुवा

प्रहरी प्रधान कार्यालयको पछिल्लो सरुवामा कोशी प्रदेशबाट ५ जना एसपी ९प्रहरी उपरीक्षक० र १५ जना डीएसपी ९प्रहरी नायव उपरीक्षक० परेका थिए । प्रहरी प्रधान कार्यालयले गत सोमबार ९भदौ ७ गते० एकैदिन ४१ जना एसपी र १ सय ४३ जना डीएसपीको सरुवा निकालेको थियो । १४ जिल्ला रहेको कोशीमा विभिन्न जिल्ला एवं युनिटका इन्चार्ज परिवर्तन भएका छन् । त्यसमध्ये सुनसरी प्रहरी प्रमुखको जिम्मेवारी एसपी सुमनकुमार तिम्सिनाले पाएका हुन् । एसपी विपिन रेग्मीको सरुवा भएपछि उनका ठाउँमा तिम्सिनालाई पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामको प्रमुखका रूपमा एसपी प्रभुप्रसाद ढकालको सरुवा भएको छ । ढकालको यसअघि नै इलाममा काज सरुवा भएको थियो । बासुदेव खतिवडाका ठाउँमा काजमा पठाइएका उनको पछिल्लो सरुवामा इलाम नै दरबन्दी कायम भएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको प्रमुखका रूपमा एसपी विनोद घिमिरेको सरुवा भएको छ । यसअघिका कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख सरोज पौडेलको सरुवा भएपछि उनका ठाउँमा घिमिरेलाई इन्चार्ज तोकेर पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रमुखमा श्यामसिंह चौधरीको सरुवा भएको छ । यसअघि एसपी विमल बस्नेत धनकुटा प्रहरी प्रमुख थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुखका रूपमा एसपी हरिहरनाथ योगीलाई पठाइएको छ । यसअघि रमेश थापा उदयपुर प्रहरी प्रमुख थिए ।
त्यस्तै, कोशी प्रदेशका विभिन्न जिल्ला र युनिटमा इन्चार्ज रहेका डीएसपीहरुको पनि सरुवा भएको छ । डीएसपी कमल बजगाईंको उदयपुरको इलाका प्रहरी कार्यालय कटारीको प्रमुखका रूपमा सरुवा भएको छ । यसअघिका डीएसपी सुभाष राई अनिवार्य अवकाशमा गएपछि उनका ठाउँमा बजगाईंलाई पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रमुखमा डीएसपी कौशलकुमार बुढाथोकीको सरुवा भएको छ । यसअघिका प्रमुख हेमन्त भण्डारी क्षेत्रीको सरुवा भएपछि उनका ठाउँमा बुढाथोकीलाई पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमको प्रमुख बनेर डीएसपी चिनिमाया तामाङ आउने भएकी छन् । यसअघिका प्रमुख रन्जनकुमार दाहालका ठाउँमा तामाङको सरुवा भएको हो । डीएसपी दक्षकुमार बस्नेतको सरुवा जिल्ला प्रहरी कार्यालय संखुवासभामा भएको छ । यसअघि घनश्याम श्रेष्ठ संखुवासभा प्रहरी प्रमुख थिए ।
इलाका प्रहरी कार्यालय धरानको इन्चार्जमा डीएसपी प्रकाश जबेगूको सरुवा भएको छ । यसअघिका प्रमुख मानबहादुर राईको जिल्ला प्रहरी कार्यालय इलाम दरबन्दी कायम भएको छ । जबेगूका ठाउँमा राई र राईका ठाउँमा जबेगूको दरबन्दी भएको हो । डीएसपी प्रकाश विष्टको जिल्ला प्रहरी कार्यालय खोटाङमा सरुवा भएको छ । यसअघि पुरुषोत्तम खड्का खोटाङ प्रहरी प्रमुख थिए ।
डीएसपी गणेशबहादुर श्रेष्ठ अनिवार्य अवकाशमा गएपछि मोरङको इलाका प्रहरी कार्यालय पथरीको प्रमुख बनाएर मोहनविक्रम दाहाललाई पठाइएको छ । डीएसपी दाहालको यसअघि नै पथरीमा काज भएको थियो । अहिलेको सरुवाबाट दरबन्दी कायम भएको हो ।
डीएसपी युवराज तिमल्सिनाको जिल्ला प्रहरी कार्यालय भोजपुरमा दरबन्दी कायम भएको छ । यसअघिका प्रमुख सुदीपराज पाठकको सरुवा भएपछि तिमल्सिनाको भोजपुर काज भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरमा डीएसपी राजन चापागाईंको सरुवा भएको छ । यसअघिका डीएसपी विजय श्रेष्ठको ठाउँमा चापागाईंलाई पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा डीएसपी रामप्रसाद तिमल्सिना आउने भएका छन् । नवीनकृष्ण भण्डारीको सरुवा भएपछि उनको ठाउँमा तिमल्सिनालाई पठाइने भएको हो । सुनसरीको इटहरीमा रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा डीएसपी रामेश्वर त्वातीको सरुवा भएको छ । यसअघि कार्यालयको डीएसपी मोहनविक्रम दाहाल थिए । दाहाललाई इप्रका पथरीको इन्चार्ज बनाएर यसअघि नै पठाइएपछि त्यो ठाउँ खाली थियो ।
इलाका प्रहरी कार्यालय इटहरीको इन्चार्जका रूपमा डीएसपी लक्ष्मी भण्डारी आउने भएका छन् । यसअघिका प्रमुख टेकबहादुर कार्की क्षेत्रीका ठाउँमा प्रहरी प्रधान कार्यालयले भण्डारीलाई पठाएको हो । डीएसपी विनोदकुमार सुनुवारको जिल्ला प्रहरी कार्यालय धनकुटा सरुवा भएको छ । यसअघि धनकुटामा डीएसपी राजाबाबु महर्जन थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, गम्भीर अपराध अनुसन्धान शाखामा डीएसपी शर्मीला गुरुङको दरबन्दी कायम भएको छ । शाखाका डीएसपी राकेश थापाको सरुवा गरेर उनका ठाउँमा गुरुङलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।