कोशीमा पानीको बहाव ५ लाख ७ हजार ६९० क्युसेक प्रति सेकेण्ड

असोज १२ गते । देशकै सबैभन्दा ठूलो नदि सप्तकोसी नदिमा यो वर्ष कै उच्च पानीको बहाव उच्च मापन गरिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद तिवारीका अनुसार आज शनिवार बिहान १२.१५ बजेको मापन अनुसार सप्तकोशी नदिमा पानीको बहाव ५ लाख ७ हजार ६९० क्युसेक प्रति सेकेण्ड जलसतह मापन गरिएको हो ।

नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी तिवारीले आग्रह गर्नुभएको छ ।

कोसीमा अत्यधिक बहाव हुनसक्ने भएपछि सुनसरीमा पनि उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । कोशी ब्यारेजमाअहिले ५६ वटा ढोका खोलिएको छ ।

यस्तै अत्यधिक वर्षा भएको भन्दै भारतको बिहार राज्यको जल संशाधन विभागले पूर्व चेतावनी जारी गरेको छ । निरन्तरको वर्षाले कोशी नदी क्षेत्रमा सात लाख क्युसेक प्रतिसेकेन्डसम्म पानी पुग्न सक्ने विभागको चेतावनी छ । बिहार सरकारअन्तर्गतको विभागले विज्ञप्ति जारी गर्दै शनिबार मध्याह्न १२ बजेसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको हो ।

निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ति बालिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।