सार्वजनिक जग्गा खोजीमा गढी गाउँपालिका

असोज ९ गते । सुनसरीको गढी गाउँपालिकाले सार्वजनिक सरकारी जग्गा तथा सम्पत्ति खोजी एवं संरक्षण सम्बन्धी कार्य अगाडि बढाएको छ ।


गढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर खड्काले पालिका क्षेत्रका सरोकारवालाहरुलाई सार्वजनिक जग्गा खोजीमा सहयोग गर्न आग्रह सहितको पत्राचार समेत गरेको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत खड्का अनुसार गाउँपालिकामा रहेको सार्वजनिक जग्गा तथा सरकारी सम्पत्तिको खोजी एवं संरक्षण गर्ने मुख्य जिम्मेवारी स्थानीय सरकारमा रहेकाले खोजीमा जुटेको हो ।


सार्वजनिक तथा सरकारी जग्गा लगायत सम्पत्तिको अभिलेख खोजी एवं संरक्षणका लागी गाउँपालिकाका सबै बडामा रहेका सार्वजनिक जग्गा र सरकारी सम्पत्ति कसैबाट अतिक्रमण भएको वा दुरुप्रयोग भएको जानकारी दिन आग्रह गरिएको छ ।
खड्काले गाँउपालिकाको कार्यालय वा वडा कार्यालयहरुमा लिखित÷मौखिक, ईमेल वा गाउँपालिकाको कार्यालयको सूचना पाटी प्रयोग गरी सूचना दिई आग्रह गरिएको जानकारी दिनुभयो । गाउँपालिकामा रहेको सार्वजनिक जग्गा र सरकारी सम्पत्ति खोजी एवं संरक्षण गर्ने कार्यमा सहयोग गरीदिनुहुन सम्पूर्ण गाउँबासीहरुमा अनुरोध सहितको सार्वजनिक पत्राचार समेत गरिएको गाउँपालिकाले जनाएको छ ।
गढीमा नहर, कुलौपैनी, सार्वजनिक बाटो, विद्यालयको जग्गा, खेल मैदान, खोलानाला र वन क्षेत्रको सार्वजनिक सरकारी जग्गा अतिक्रमण भएको पाइएकाले संरक्षणमा गाउँपालिका लागेको गाउँपालिका उपाध्यक्ष अनिताकुमारी साहले जानकारी दिनुभयो ।