सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई जहाज बुधबार बिहान ११ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा को–पाइलट एस कटुवाल, एयरलाइन्सका कर्मचारीहरू अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, आश्विन निरौला र सुदीपलाल जोशीको मृत्यु भएको छ ।

यसैगरी, दुर्घटनामा सौर्य एयरलाइन्सकै कर्मचारीहरू सर्वेश मरासिनी, श्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको नेपाल नागरिक उड्‌डयन प्राधिकरणले जनाएको छ ।

शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

जहाजका पाइलट मनिषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको छ । शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।