बंगलादेशमा अध्ययन् गरी फर्किएका नेपाली चिकित्सकहरुको दोस्रो पुर्नमिलन कार्यक्रम

बंगलादेशमा अध्ययन् गरी फर्किएका नेपाली चिकित्सकहरुको दोस्रो पुर्नमिलन कार्यक्रम शुक्रबार राजधानीमा सम्पन्न भएको छ ।
सोसाइटी फर नेप्लीज डाक्टर्स अफ बंगलादेश’को आयोजनामा भएको कार्यक्रममा ५० बर्ष अघि नै बंगलादेशबाट अध्ययन पुरा गरि चिकित्सक बनि फर्किएका पहिलो पुस्ताका प्राडा भोला रिजाल देखि भर्खरै अध्ययन पुरा गरि फर्किएका तेस्रो पुस्ताका चिकित्सकसम्मको सहभागिता थियो ।
यस्तै कार्यक्रममा सहभागिता जनाउन भर्खरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका मन्त्री प्रदीप पौडेल, बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी निजी चिकित्सक डा एबीएम अबदुल्लाह र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरी आएका थिए ।
सो अवसरमा मन्त्री पौडेलले विदेशमा अध्ययन गरी फर्किएका चिकित्सकहरुलाई कसरी टिकाउने भन्ने विषय यतिवेलाको प्रमुख मुद्धा भन्दै यसमा सरकारले आवश्यक वातावरण तयार गर्ने प्रतिवद्धता जनाए । चार दिन अघि मात्रै स्वास्थ्य मन्त्रालय सम्हाल्न आएको भन्दै मन्त्री पौडेलले औपचारिक कार्यक्रममा हिडिहाल्ने नीति बनिनसके पनि विदेशमा अध्ययन गरी फर्किएका चिकित्सकहरुको ठूलो उपस्थिति हुने कार्यक्रममा आफूलाई रोक्न नसकेर सहभागिता जनाएको बताए बंगलादेशकी प्रधानमन्त्रीका निजी चिकित्सक डा अवदुल्लाहले नेपालमा बंगलादेशमा अध्ययन गरेका चिकित्सकहरुबीच उपस्थित हुन पाउँदा ढाकामै रहेको जस्तो अनुभव भएको बताए । उनले बंगलादेशमा पढेर उत्कृष्ठता हासिल गरेका थुप्रै नेपाली चिकित्सक आफूले पाएको भन्दै खुशी व्यक्त गरे ।
सो अवसरमा नेपालका लागि बंगलादेशका राजदूत चौधरीले नेपाल र बंगलादेशको सम्वन्ध ऐतिहासिक रहेको भन्दै यसलाई अक्षुण राख्न पर्ने बताए । उनले मेडिकल शिक्षा र औषधि क्षेत्रमा नेपाल र बंगलदेशको सम्वन्ध नजिकको भएको भन्दै यसलाई अझ उचाईमा पुरयाउनु पर्ने बताए ।
कार्यक्रममा बंगलादेशमा चिकित्सा अध्ययन् गरेका स्वास्थ्य सचिव डा. रोशन पोखरेल, बंगलादेशका लागि नेपालको राजदूत समेत बनिसकेका मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुसाल, नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्की लगायतको समेत उपस्थिति थियो । उनीहरुले नेपालको चिकित्सा क्षेत्र र औषधिको क्षेत्रमा बंगलादेशको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।
कार्यक्रमको समन्वयकर्ता औषधि व्यवसायी समेत रहेका डा अबुल हुसेन अन्सारीले बंगलादेशबाट हजारौँ चिकित्सक अध्ययन गरी फर्केको, त्यसमध्ये कैयौले छात्रबृत्तिमा निशुल्क अध्ययनको अवसर पाएको भन्दै बंगलादेश सरकारको प्रशंसा गरे ।
‘सोसाइटी फर नेप्लीज डाक्टर्स अफ बंगलादेश’ का अध्यक्ष डा राकेश साहले बंगलादेशबाट अध्ययन गरी फर्केका चिकित्सकहरुबीच चिनजान गर्ने र परिआउँदा एक अर्कालाई सहयोग गर्ने उदेश्यले पुर्न मिलन कार्यक्रमको आयोजना गरिएको बताए ।
करीव ५५० चिकित्सकहरुको सहभागिता भएको सो कार्यक्रममा डा मदन पियालाई लाइफ टाइम एचिभमेन्ट अवार्डद्धारा सम्मान गरिएको थियो ।