सभापति देउवाद्वारा महिला संघको भवन शिलान्यास

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिला संघको केन्द्रीय कार्यालयको भवन शिलान्यास गरेका छन् ।

बुधबार सभापति देउवाले भवनको शिल्यानास गर्ने अवसर पाउँदा आफूलाई सौभाग्यशाली ठानेको बताए । कति ठाउँमा शिलान्यास गर्ने तर भवन निर्माण नहुने समस्या रहेको भन्दै उनले भवन निर्माण गरी उद्घाटन नै गर्नका लागि शुभकामना दिएका छन् ।


उनले भने, ‘यो भवनको शिलान्यास गर्ने मैले मौका पाएको छु ,त्यो मेरा लागि धेरै ठूलो सौभाग्यको कुरा पनि हो । प्राय के हुन्छ भने शिलान्यास गर्ने यत्तिकै छोड्ने पनि हुन्छ । त्यसैले मैले त अझ के भन्छु भने उद्घाटन गर्न बोलाउनु होस् शिलान्यास गर्न बोलाउँदै नबोलाउनु होस् पनि भनेको छु । त्यसैले यो भवनको शिलान्यास मात्र होइन भवन निर्माण होस् र उद्घाटन गर्न पाइयोस् ।’


त्यस्तै, उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक हुँदै गणतन्त्रात्मक संविधानबाट अधिकार प्राप्तिका लागि पार्टीका महिला नेतृहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘यो संघीय लोकतान्त्रिक हुँदै गणतन्त्रात्मक संविधानबाट हामीले प्राप्त गरेको जुन अधिकारहरु छन् । ति अधिकार प्राप्त गर्नको लागि हाम्रो पार्टीका धेरै महिला नेतृहरुले धेरै ठूलो योगदान पुर्याएका छन् ।’

कार्यक्रममा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य माननीय उपप्रधान एवं शहरी विकास मन्त्री  प्रकाश मान सिंह विशेष आतिथ्य एवं पार्टीको विभिन्न तहको नेतागण ,पुर्व मन्त्रीज्युहरु ,नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य , नेपाल तरुण दल निवर्तमान अध्यक्ष एवं राष्ट्रिय सभा माननीय सांसद जित जङ्ग बस्नेतज्यु ,नेपाल तरुण दल केन्द्रीय अध्यक्ष  विद्वान गुरुङ,डा. अब्बुल अन्सारी अतिथिको रुपमा उपस्थित रहेको थियो ।