दुहबीको संयुक्त युवा र गोल्डेनस्टार क्लब बी डिभिजनमा घटुवा

सुनसरी जिल्ला लिग फुटबलबाट दुहबी क्षेत्रका दुई क्लब रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा भएका छन् ।
वैशाख २६ देखि जारी जिल्लाको ‘ए’ डिभिजन लिगमा संयुक्त युवा क्लब र गोल्डेनस्टार क्लब रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा भएका हुन ।  अखिल नेपाल फुटबल संघको संयोजनमा जारी लिग इटहरी र धरान क्षेत्र गरी दुई स्थानमा भएको हो । इटहरी रङ्गशाला तथा धरान रङ्गशालामा जारी प्रतियोगितामा सुनसरी जिल्ला फुटबल संघमा आबद्ध १० ए डिभिजन क्लब सहभागी छन् । सहभागी १० टिमलाई २ समूहमा विभाजन गरी लिग सञ्चालन गरिएको हो ।
इटहरी क्षेत्रबाट गोल्डेनस्टार र धरान क्षेत्रबाट संयुक्त युवा क्लब रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा भएका हुन । गोल्डेनस्टारले खेलेको ४ वटै खेलमा जित निकाल्न सकेन । उसले १ खेल बराबरी खेल्दा ३ खेलमा पराजित हुँदै १ अंक मात्र जोड्न सक्यो । चार खेलमा जम्मा १ गोल मात्र गरेको गोल्डेनस्टारले ५ गोल खान पुग्यो ।
धरान क्षेत्रमा भएको खेलमा संयुक्त युवा क्लब जीत विहीन बन्न पुग्यो । चारवटै खेलमा पराजित भएर अंकबिहिन भएको संयुक्त युवा पुछारमा रहँदै रेलिगेसनमा परेको हो । चार खेलमा ५ गोल गर्दा दुई दर्जन गोल खाएको संयुक्त युवा अघिल्लो संस्करणबाट ए डिभिजनमा बढुवा भएको थियो ।
लिगमा उत्कृष्ट प्रदर्शन गर्दै धरान फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरी उपाधि नजिक पुगेका छन् । यी दुई टोलीबिचको फाइनल खेल आज दिउसो धरान रङ्गशालामा हुनेछ । लिग विजेताले नगद ५० हजार रुपैयाँ र उपबिजेताले ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट हुनेलाई नगद ३ हजार र सर्वाधिक गोलकर्तालाई ५ हजार प्रदान गरिने जनाइएको छ ।