सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसात् गर्न सत्पे्ररणा मिलोस् ः राष्ट्रपति पौडेल

 

चैत २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले कुम्भ प्रारम्भ भएको आजको यो पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई सत्पे्ररणा मिलोस् भन्ने कामना गर्नुभयो ।


आजदेखि सुनसरीको चतरामा सुरु भएको १२ वर्षे कुम्भमेलाको उद्घाटन तथा उहाँको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले निमुखा जनताको निर्बाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसात् गर्न आग्रह पनि गर्नुभयो ।


उहाँले ऋषिमहर्षिको तपोभूमी, देवदेवीहरूको क्रिडास्थली, एक पवित्र तीर्थ स्थल वराहक्षेत्रको वक्षस्थलमा रहेको प्राचीन हरिद्वार चतराधामको पवित्र कुम्भ नगरीमा सहभागी हुन पाउँदा सुखानुभूति भएको उल्लेख गर्दै चतराधाम नेपालका चार धाममध्येको एक धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मात्र होइन विश्वकै चार पवित्र क्षेत्रमध्येको एक मानिएको बताउनुभयो ।


राष्ट्रपति पौडेलले नेपाल भौगोलिक, आध्यात्मिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले उच्चतम स्थान भएको र हिमालयको काखमा अवस्थित सुन्दर र शान्त नेपालमा कैयौँ महिमामय प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल तथा प्रकृतिको वरदानका रूपमा प्रशस्त नदीनाला, हिमशृङ्खला, तालकुण्ड, आश्रम वा तपोभूमिहरू रहेको उल्लेख गर्दै परापूर्वकालदेखिनै हिमशृङ्खलाबाट उद्गम भएर बग्ने पवित्र नदीहरूको प्रवाह, महान् व्यक्तित्वहरूको जन्म, तपसाधना र उहाँहरूबाट मानवजातिको सर्वोत्तम हितका लागि व्यक्त विचारका कारण यसको आफ्नै महत्त्व र महिमा रहँदै आएको पनि बताउनुभयो ।


राष्ट्रपति पौडेलले आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्धन, विभिन्न जातजाति, धर्म, लिङ्ग र सम्प्रदायका व्यक्तिलाई एकै सूत्रमा बाँध्न सक्ने, राष्ट्रियता, राष्ट्रिय एकता, स्वतन्त्रता र सार्वभौकिताको संरक्षण, संवर्द्धन गर्न सकिने उद्देश्य राखेर आयोजना गरिएको कुम्भ मेला नेपालकै गौरव भएको बताउँदै गौरवपूर्ण यो अवसरलाई सदुपयोग गर्दै धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने कार्यमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विभिन्न देशका भक्तजनहरू एकै ठाउँमा भेला भई विद्वत् सम्मेलन गर्ने, कुम्भ मेलाकै अवसरमा सामूहिक ब्रतमन्ध गर्ने, साहित्यिक गतिविधिहरू सञ्चालन गरिनुले सामाजिक जागरणमा समेत सकारात्मक भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गर्नुभयो ।
उहाँले पूर्वीय दर्शनले अभिप्रेरित गरेको सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषा भाषीबीचको समभाव र एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पनि मूल लक्ष्य भएको स्पष्ट पार्नुभयो ।
राष्ट्रपति पौडेलले स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्यलाई साकार रुप दिन आवश्यक भएको बताउनुभयो ।
यसैबीच, राष्ट्रपतिले श्रीराधा सर्वेश्वर मन्दिरमा दर्शन तथा पूजा, अर्चना गर्नुभयो भने त्यहाँ निर्माण गरिएको आचार्य केशवशरण स्मृति भवनको समुद्घाटन समेत गर्नुभएको थियो ।
महाकुम्भ मेलाको सफलताको शुभकामना व्यक्त गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुम्भमेलाले बराहक्षेत्रको आर्थिक समृद्धिका लागि पनि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायतले महाकुम्भको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । कुम्भमेलाका संस्थापक तथा नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले शास्त्रहरुमा चतरामा कुम्भमेला लगाउने प्रशस्त आधार भेटिएकाले यहाँ कुम्भमेला लगाउन सुरु गरिएको बताउनुभयो । उहाँले कुम्भमेलामा सहभागी बन्न सबै नेपालीमा आह्वान गर्नुभयो ।
विसं २०८१ वैशाख २८ गतेसम्म सञ्चालन हुने महाकुम्भ मेलामा देश विदेशबाट करिब ३० लाख दर्शनार्थी सहभागी हुने आयोजकको अनुमान छ । विगतमा भारतका विभिन्न स्थानमा मात्र कुम्भमेला लाग्ने गरेकोमा २०५९ सालबाट सुनसरीको चतरामा पनि कुम्भमेला लाग्न थालेको हो । चतरामा हरेक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्ण कुम्भमेला लाग्ने गरेको छ ।