लागुऔषध ब्राउनसुगर, निषेधित औषधी र गाँजा सहित ८ जना पक्राउ

झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर, निषेधित औषधी र गाँजा सहित बिहिवार ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा प्रहरी चौकी डाईनियाबाट खटिएको प्रहरीको टोलीले मोरङको सुनवर्षी नगरपालिका-६ झपडतल स्थितमा आमबारीबाट डाईनियातर्फ आउदै गरेको प्र.१-०२-००३ ह.१२१२ नम्बरको अटोलाई चेक जाँच गर्ने क्रममा अटोमा सवार मोरङको रतुवामाई नगरपालिका-१० का ५० बर्षीय महेन्द्र साह र ५० बर्षिया निरिसा देवी साहले शरिरको बिभिन्न भागमा लुकाई छिपाई लैजादै गरेको ४ किलो ९०० ग्राम गाँजा सहित अटो चालक ४५ बर्षीय लिल बहादुर कार्की समेतलाई पक्राउ गरेको हो ।
यसैगरी बिहिबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले तेह्रथुमको छतर गाउँपालिका-५ का ४६ बर्षीया नर्बदा लिम्बुलाई बिराटनगर-१५ बाट १.१३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यसका साथै बिहिबार साँझ प्रहरी चौकी बेलसोत उदयपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले बा ४४ प ७८२७ नम्बरको मोटरसाइकलमा सवार उदयपुरको कटारी नगरपालिका-३ का २७ बर्षीय करण लिम्बु र १९ बर्षीय बिशाल तामाङलाई चेकजाँच गर्ने क्रममा अबैध औषधी स्पास्पेन-२५०० चक्की सहित नियन्त्रणमा लिएको थियो ।
यसैगरी गोप्य सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका-३ का २२ बर्षीय कृष्ण कुमार थापा र २३ बर्षीय अजय राजवंशीलाई १ ग्राम १७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।