सुन्दरहरैंचाका लेखा अधिकृत ढकाल भ्रष्टाचारी ठहर, ६ महिना कैद र २ लाख जरिवाना

सेवाग्राही संग २ लाख रुपैया घुसलिएको अभियोगमा पक्राउ परेका ​​​मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले फैसला गरेसंगै ढकाललाई ६ महिना कैद र २ लाख रुपैयाँ जरिवाना गरेको प्रवक्ता धनबहादुर कार्कीले जनाएका छन् ।

२ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका ढकाललाई विशेष अदालतले आज फैसला गरेको हो ।नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयको टोलीले कार्यकक्षबाटै ​नियन्त्रणमा लिएर मुद्दा दायर गरेको थियो ।