खिईएर मेटिन लागेका मेरा केही पुराना अक्षरहरू

जय प्रकाश आनन्द

१) विश्वेस्वर प्रसाद कोईरालाका केही बिचारहरूलाई आज गलत उद्धरणको रूपमा उल्लेख गरिने गरिन्छ। राजतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रिय एकता तथा मेलमिलापको कार्यनीतिका सन्दर्भमा खासगरी फरक किसीमबाट उल्लेख गरिने गरिएको देखिन्छ ।
हिजोका दुर्दान्त मण्डलेहरू र सदैब प्रजातन्त्र हत्याका समर्थक कम्युनिष्टहरूले पनि यता बात बातमा काँग्रेसीहरूलाई उपदेश दिने गरेका हुन्छन्। यस्ता उपदेश प्रायस: तिनीहरूले राजतन्त्र, राष्ट्रियता, भारतको बिरोध तथा मेलमिलापका सन्दर्भमा फलाकि रहेका हुन्छन्। उदाहरणका लागि तिनीहरूले बीपीका समयका चुनावी घोषणापत्रका युक्तिहीन अंशहरू, राजाको घाँटी र मेरो घाँटी संगै जोडिएको छ भन्ने प्रसंग अनि मेल मिलाप कार्यनीतिका केही मनगढन्त व्याख्यालाई प्रयोग गरिरहेका हुन्छन्।
वास्तवमा बीपीको बिचार सम्पूर्ण रूपमा कहिल्यै पनि कुनै घोषणापत्रमा समाविष्ट छैन। न त ०७ सालको क्रांति कालमा, न त ०१५ को आम निर्वाचनमा । पार्टीको बिधानलाई पनि यसै रूपमा बुझ्नु पर्दछ। पार्टीका यी दस्तावेजहरू जहिले पनि बिभिन्न नेताहरू वा सोचहरूका समिश्रित रूपमा पारित गरिएका हुन्छन। जबकि, बीपी गहन सवालहरूमा दार्शनिक दृष्टिकोण राख्नु हुन्थ्यो।
व्यक्तिगत सोचमा बीपी सदैव,शायद जीवन पर्यन्त पनि राजतन्त्र, धार्मिक राज्य र संशोधित प्रजातन्त्र वा मोडेल डेमोक्रेसी जस्ता बिषयको पक्षपाती रहनु भएन। राजतन्त्र, धर्म बारे राज्य र प्रजातन्त्रका बारे उहाँका साहित्यको अध्ययन गर्दा स्पष्ट हुनजान्छ। धेरैले बीपीको ‘राजतन्त्र’ शिर्षकको लेख नै नपढेको हुन सक्छ। जहाँ बीपीले नेपाली समाजमा राजतन्त्रको आधार उपर नै प्रश्न उठाउनु भएको छ। सन् १९६८ मा बीपीले वाराणसीको एक सम्मेलनमा ‘एशियन च्यालेन्ज एण्ड गांधीज्म’ बिषयमा बोलेकोबाट नृशंस राजतन्त्रका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ ।
शिवरात्रीको दिन एकजना जर्मन पत्रकारलाई पशुपतिको अपार श्रद्धालु देखाउदै बीपीले भनेको कि “म निजी रूपमा धर्म मान्दिन।तर, पूर्व-पश्चिम पुरै नेपालबाट कयौं दिन पैदल हिडेर यहाँ मूर्तीको पूजा गर्न आएकाहरूको आस्था पनि म बदल्न सक्दिन।” शायद धेरैले छापिएको यस तथ्यको पनि स्मरण गर्दैन आज भोली। नेपालको सन्दर्भमा धर्म निरपेक्षता ठिक नहुन सक्छ। तर, धर्म निरपेक्षता बीपीको निजी सोच थियो।
राष्ट्रिय एकता तथा मेलमिलापको कुरा गरेर बीपीको स्वदेश आगमनलाई धेरैले तत्कालिन भारतमा इंदिरा गांधीको नेपाल खाने योजनालाई बीपीले लत्याएको भनि अर्थ्याएको देखिन्छ। मर्नु परेपनि नेपालमै मर्ने तर इंदिरा गांधीको योजनामा सरीक नहुने भनेर बीपीलाई आजको संकुचित तथा बजारीकरण गरिएको राष्ट्रवादसंग जोड्न खोजेको देखिन्छ। मेलमिलापको नीति वा कार्यनीति बस्तुत: बीपीको यौटा ‘लाउड थिंकिंग’ थियो। जस्लाई सन् ७० को दशकको अन्त्य तिरको शीतकालिन विश्व राजनीतिको सापेक्षतामा मात्र बुझ्न सकिन्छ। यसको सारको रूपमा, अमेरिका सबैतिर प्रजातान्त्रिक आन्दोलनहरूको रक्षा गर्न नसकेको, कम्युनिष्टहरूको मुकाबिला गर्न तानाशाहहरूलाई संरक्षण गरिरहेको एक बिशेष स्थिति रहेको बुझ्नु पर्दछ। अर्को तिर सोवियत संध, खासगरी प्रजातान्त्रिक मुलुकहरूमा कम्युनिष्टहरूको सहयोगमा सत्ता हत्याउन चाहेको, र मध्य तथा दक्षिण एशियाली मुलुकहरूको स्वतन्त्रता अफगानिस्तानमा सोवियत कब्जाले गर्दा खतरामा परेको बुझाई हो। यस सन्दर्भमा, इंदिरा गांधीको बारेमा बीपी स्पष्ट हुनुहुन्थ्यो कि उनि सोवियत संधका पिछलग्गू थिईन। तिनताकमा नेपालका राजा बीरेन्द्र कम्युनिष्टहरूको जालमा परेको र प्रजातन्त्रवादीहरूलाई समाप्त पारेर कम्युनिष्ट नियन्त्रणको पंचायति व्यवस्थालाई दरो बनाउने सोवियत डिजायनले अन्तत: नेपालको स्वतन्त्रतालाई नै समाप्त पार्ने बीपीको बुझाई रहेको थियो। यस तथ्यसंग राजालाई सहमत गराएर मुलुकलाई प्रजातान्त्रिकरणको दिशामा लिई जानु बीपीको नीति भनौं वा दृष्टिकोण थियो।
आज, हवाई जहाजमा सवार काँग्रेसी, आकाशमा उडी रहेको जहाजमा कुनै प्राविधिक गडबडी भएमा बीपीको मेलमिलाप कै नीति पल्टाएमा पाईलटले तेसको मर्मत गर्न सक्ने, समाधान गर्न सक्ने गरी जसरी अर्थ लगाई रहेको देखिन्छ-यसको तेस्तो सर्वकालिक व्यापकता शायद बीपीले सोच्नु भएन होला। रोजगारी, जनताको आयबृद्धी, सर्वशुलभ स्तरीय शिक्षा, जनता प्रति लक्षित जन स्वाथ्य नीति, समावेशीकरण जस्ता आधारभूत बिषयहरू-जुन जनताका आधारभूत खोजी र चाहना हुन, यसको समाधान पनि बीपीको तेस सोचबाट खिच्ने प्रयत्न त वास्तवमा दिशाहीनता हो। न कि, बीपी प्रतिको आस्था ।
२)
परशु नारायण चौधरी ४/५ दिन अघि मात्र पंचायत पस्नु भएको थियो ।
आफ्ना केही साथीहरूका साथ उहांले निकालेको वक्तव्यको शिर्षक “अबको नयाँ बाटो” राख्नु भएको थियो । जनमत संग्रह ताकाको प्रचारका क्रममा बी.पी. कोईरालाले बहुदल आए परशु नारायण नेपालको प्रधानमंत्री हुने भन्नु भएको थियो । यस्तो मानिस सुटुक्क पंचायत पसेको सन्दर्भमा बीपीको रोजाईका वारेमा पनि प्रश्न उठेको थियो ।
परशु जीको पलायनका सम्बन्धमा बीपीको प्रतिकृया पनि जोशिलो र आलोचनात्मक थिएन । “नेपाली जनताले जुन कारणले परशु नारायण चौधरीलाई माया गरेका थिए, सो कारण अब रहेन ।” यही थियो बीपीको प्रतिकृया । आजको जस्तो तथानाम गाली गरेर उहाँले केही भन्नु भएन । वा, भित्र भित्र कुरा मिलाएर गएका हुन कि; यस्तो आशंका गर्ने पनि केही थिए ।
डा. तुलसी गिरी, विश्वबन्धु थापा, डा. नागेस्वर सिंह-यस्ता मानिसहरूको सूचि लामै थियो, जो एक समय बीपीका बडो नजिक रहेका थिए । सहकर्मीको रोजाईमा बीपीमा बढी त्रुटी छ, यस्तो चर्चा खुब हुने गर्थ्यो ।
बीपी 1977 नोभेम्बरमा उपचार गराई अमेरिकाबाट फर्किनु हुदां परशु नारायण र गिरिजा बाबु दुबै जनालाई पटना-काठमांडूको हवाई जहाजमै उहांले प्रतिबन्धित नेपाली कांग्रेसको महामंत्री बनाउनु भएको थियो । यो एक छुट्टै रोचक ऐतिहासिक प्रसंग हो । फेरी लेखौला । यसरी एकै पटक दुई जना महामंत्री भएको शायद गिरिजा बाबुलाई तेतीसारो मन परेको थिएन क्यार !
त्यस साँझ चावहिल मित्रपार्कको बीपी निवासमा शेख इद्रिस पनि हुनुहुन्थ्यो । परशु जीको पलायनपछि शेख साहेबले बीपीका प्रति दरो भरोसा जनाउनु भएको थियो । खानाको अन्त्यमा बीपीले रूचि पूर्वक खीर खादै गर्दा चक्र जी, चक्र बास्तोलाले कुरा उठाई हाल्नु भो । यो कुरा फेरी गिरिजा बाबुको पनि रूचिको कुरा भएको थियो । तेसैले बीपीले यसको जवाफ नपन्छाउनु होस भनेर गिरिजा बाबुले चक्र जी तिर उन्मुख हुदै जिज्ञासा गर्नु भो; के भन्नु भो अरे चक्र जी ? बीपी, गिरिजा बाबु, सुशील दा, शेख इद्रीस, बीरेन्द्र दाहाल, म; हामी सबै चक्र जीका प्रति उन्मुख भयौ । चक्र जी बीपीसंग सदैव निर्भिक रहनु हुन्थ्यो । गिरिजा बाबु सदैब थिचिएको !
चक्र जीले भन्नु भयो; हैन सान्दाजु, परशु नारायणलाई त तपाईले निकै पत्याउनु भएको थियो । उनले धोका दिए । तपाईलाई शंका थिएन ? के पहिले देखिनै उनि प्रति तपाईको विश्वास अडीग थियो र ?
बीपीले चक्र जीलाई भन्दापनि गिरिजा बाबु तर्फ मुखातिव हुदै सोध्नु भयो-गिरिजा कुनै पनि सहयोगीसंग तिम्रो सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ? गिरिजा बाबुले संकोचका साथ भन्नु भयो-म त लामो समयसम्म मानिसको परख गर्छु । शुरूमा त शंका गरिरहन्छु । परफेक्ट देखिएपछि मात्र विश्वास गर्छु । बीपीले सोध्नु भयो-ओखलढुंगा काण्डमा के भयो ? के कारणले नख्खुबाट झिकिएर लिला, ठगीहरू मारिए ? दुर्गा सुवेदीहरू किन तिमीसंग रहेनन् ?
बीपीले थप्नु भयो: सोच्दै गर्नु । म त विश्वासलाई नै आधार मान्दछु । पत्यार, अपत्यार, विश्वास र अविश्वास, भरोसा र धोका चिरन्तर र चिरस्थायी कहां हुन्छ र ? यो सर्वकालिक हुदैन । मानिसको सोचलाई तत्कालिक परिस्थितिले निर्धारित गर्दछ । तत्कालिक परिस्थितिलाई भने उस्को बाध्यता, प्रतिकूलतालाई ब्यहोर्ने क्षमता, लोभ र नि:स्पृहताले निर्धारित गर्दछ । यसर्थ, कोही संगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहदैन ।
सबैले विस्तारै दुधको खीर सकेका थिए । मन मिठो भएको थियो । तर, यस सम्वादले भने सबैलाई, खासगरी बीपी वाहेक हामी सबैलाई उद्वेलित पारेको थियो ।
मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन। तर, बीपीले जे जवाफ दिनु भयो; मेरो लागि आज पनि प्रश्न रहित नै छ ! हो त, कोही संगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहदैन । को कहाँ रहन्छ, कोही कहाँ पुग्छ । तर, ज्ञान भने सर्वकालिक नै हुन्छ । (धेरै बर्ष अघि यो संस्मरण फेसबुक बालमा राखेको थिए। फेरी राख्न मन लागेर राखेको हुँ।)