राष्ट्रिय बजरंग दलद्धारा विदाको माग

। सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा विवाह पञ्चमीको दिन डोला तथा रथयात्रा निकालिने भएकोले स्थानीय विदा दिनुपर्ने माग गर्दै राष्ट्रिय बजरंग दलले ज्ञापन पत्र बुझाएको छ ।

ऐतिहासिक रुपमा वर्षेनि निकालिदै आएको डोला तथा रथयात्रालाई ध्यानमा राखेर विदाको माग गर्दै इनरुवाका प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।

राष्ट्रिय बजरंग दलका नगर अध्यक्ष त्रिलोकचन गुप्ता सहितको टोलीले इनरुवा नगरपालिकामा विदाकोे माग गरिएको हो । ज्ञापन पत्रमा दलले भनिएको छ, “हामी सबै धर्म, संस्कृति र संस्कारको सम्मान गर्दै आफ्नो धर्मको संरक्षण र रक्षा गर्दै आएको सन्दर्भमा प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्वको अवसरमा दुई वर्षअघिसम्म इनरुवाको रामजानकी मन्दिरबाट डोला तथा रथयात्रा निकालिने र त्यस अवसरमा इनरुवा नगरपालिकाले स्थानीय विदा दिदै आएकोमा गत वर्षदेखी कटौती गरेकाले हाम्रो गम्भिर ध्यानाकार्षण भएको छ । ”

ज्ञापन पत्रमा सनातनि हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र रामजानकी मन्दिरबाट निकालिने रामसिता रथ यात्रा तथा डोला सदाको वर्षझै यस वर्षपनि पुस १ गते आईतबार त्यसको निरन्तरता दिने भएकाले स्थानीय सरकार समक्ष सो दिन स्थानीय विदाको लागि जोडदार माग गरिएको छ ।

अध्यक्ष गुप्ताले श्रीरामचन्द्र र सीताको पूजा आराधना सहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर र रथयात्रा समेत निकालिने भएकाले विदाको व्यवस्था मिलाउनुहुन हार्दिक अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको बताउनुभयो । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको र भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रथारोहण गर्ने र इनरुवा २ को लक्ष्मीनारायण मन्दिरमा पु¥याइदै आएकाले इनरुवा ४ को रामजानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी इनरुवा २ पुरर्याउने गरिन्छ ।

यसैको सेरोफेरोमा आईतबार सार्वजनिक बिदाको व्यवस्था मिलाई दिन र समग्र इनरुवाबासीको माग र आस्थालाई सम्मान गर्न आग्रह गरिएको छ ।