के हो इजरायल–प्यालेस्टाइन युद्ध ?

 मध्यपूर्वको बीचमा रहेको सानो मुलुक इजरायललाई एक शक्तिशाली राष्ट्रको रूपमा चिन्ने गर्छन् ।
पछिल्लो समय इजरायल नेपालीहरूको रोजगार गन्तव्य मुलुक बनेको छ । तर प्यालेस्टाइनबारे अझै धरैलाई त्यति जानकारी छैन । कतिपयलाई लाग्छ, यो एक देश हो। यदि त्यसो हो भने यसलाई संयुक्त राष्ट्रसंघले मान्यता दिएको छैन ।
राष्ट्रसंघमा यो ‘नन–मेम्बर अब्जर्भर स्टेट’अर्थात्, सदस्य नरहेको पर्यवेक्षक राष्ट्रको मान्यता छ। देशको पूर्ण मान्यता नभएकै कारण राष्ट्रसंघले मताधिकारसहितको सदस्य नबनाएको हो । देशको मान्यता नभए के हो त प्यालेस्टाइन् किन इजरायल र प्यालेस्टाइनबीच बारम्बार युद्ध भड्किइरहन्छ? इजरायल र प्यालेस्टाइनबीचको विवाद बुझ्न १०० वर्षअगाडि फर्किनुपर्छ। अहिलेको इजरायल र प्यालेस्टाइन भएको क्षेत्र प्रथम विश्वयुद्ध अघि ओटोमन साम्राज्यद्वारा नियन्त्रित भूभाग थियो। भू–मध्यसागर र जोर्डन नदीबीचमा रहेको प्यालेस्टाइनको क्षेत्र मुस्लिम, यहुदी र इसाई धर्मावलम्बीले पवित्र भूमि मान्छन् ।
ओटोमन साम्राज्यद्वारा नियन्त्रित भए पनि अधिकतम क्षेत्र अरब र अन्य मुस्लिम समुदायद्वारा कब्जा गरिएको थियो। प्रथम विश्वयुद्धपछि मध्यपूर्वमा ओटोमन साम्राज्यको विघटन भयो र बेलायतले प्यालेस्टाइनको प्रशासनलाई नियन्त्रण गर्न‘लिग अफ नेसन्स’ बाट स्वीकृति प्राप्त गर्यो।यो क्षेत्रलाई बेलायतले सन् १९१८ देखि १९४८ सम्म आफ्नो नियन्त्रणमा राखेको थियो। दोस्रो विश्वयुद्धका क्रममा हिटलरको नाजी शासनद्वारा युरोपभरि झण्डै ६०लाख यहुदी मारिए।बाँकी रहेका यहुदीले आफ्नो छुट्टै राज्यको माग गरे त्यसपछि बेलायती शासकहरूले प्यालेस्टाइनमा यहुदीहरूका लागि छुट्टै भूमि बनाउने कुरा गरे ।
प्यालेस्टाइन क्षेत्रमा यहुदी र अरब समुदायका मानिसहरू बसोबास गर्थे। सुरक्षा खोज्दै यहुदीहरू प्यालेस्टाइन क्षेत्रमा आइपुगे। योसँगै त्यहाँ यहुदीको बाहुल्यता बढ्यो। यहुदीहरूले यस क्षेत्रलाई पुर्खाहरूको भूमि मान्छन्। अरब समुदायले पनि यस्तै दाबी गर्छ। फलस्वरूप त्यहाँ दुवैबीच तनाव बढ्न थाल्यो। सन् १९४७ मा संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई दुई भागमा विभाजन गर्ने निर्णयलाई अनुमोदन गर्यो। त्यसमध्ये एक भाग यहुदीहरूको लागि भयो, अर्को अरब समुदायहरूको लागि। जेरुसेलमलाई अन्तर्राष्ट्रिय शहर घोषणा गरियो। यो योजनालाई यहुदी नेताहरूले स्वीकार गरे, तर अरब पक्ष भने मान्न तयार भएन ।
तत्कालीन बेलायती शासकहरू समस्या समाधान गर्न असफल भएपछि त्यत्तिकै छाडेर गए। अन्ततः १९४८ मे १४ मा यहुदी नेताहरूले इजरायल राज्यको गठन गरेको घोषणा गरे । इजरायलको गठनसँगै स्थानीय तनाव क्षेत्रीय विवादमा परिणत भयो । भोलिपल्टै इजिप्ट, जोर्डन, सिरिया र इराकले यस क्षेत्रमा आक्रमण गरे ।
यो पहिलो अरब–इजरायल युद्ध थियो। यसलाई यहुदीहरूको ‘स्वतन्त्रता संग्राम’ पनि भन्ने गरिन्छ। त्यतिबेला प्यालेस्टिनीहरूमा त्रासदी बढ्न थाल्यो। उनीहरू यहुदी सशस्त्र सेनाहरूको दमनमा परे। साढे सात लाख प्यालेस्टिनीहरू छिमेकी देशहरूमा शरण लिन पुगे। यो युद्धको अन्त्यपछि, संयुक्त राष्ट्रसंघले अरब राष्ट्रका लागि आधा भूमि आरक्षित गर्यो। प्यालेस्टाइन क्षेत्र इजरायल, वेस्ट बैंक र गाजा स्ट्रिप गरी तीन भागमा विभाजित भयो। प्यालेस्टिनीहरू गाजा र वेस्ट बैंकमा बस्न थाले। यी दुई भूमि एकअर्कासँग जोडिएका छैनन्। बीचमा इजरायलको भूमिले छुट्याएको छ। प्यालेस्टाइनका यी दुई क्षेत्र ४५ किलोमिटरको दूरीमा छन्। वेस्ट बैंकको क्षेत्रफल ५ हजार ९७० वर्ग किलोमिटर र गाजा पट्टीको क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ । फेरि सन् १९६७ मा इजरायल र अरब मुलुकबीच युद्ध भयो। यहुदी र अरबबीच ६ दिनसम्म (जुन ५–११) चलेको उक्त युद्धमा इजरायलले अरब राष्ट्रहरूको सैन्य गठबन्धनमाथि विजय हासिल गर्यो। गाजा पट्टी, इजिप्टको सिनाई प्रायद्वीप, जोर्डनबाट पूर्वी जेरुसेलमसहित वेस्ट बैंक सिरियाबाट गोलान हाइट्स आफ्नो नियन्त्रणमा ल्यायो। त्यतिबेला पनि ५० हजारभन्दा धेरै प्यालेस्टिनी विस्थापित भए। त्यहीबेला हो प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ)ले लेबनानमा आश्रय लिएर इजरायलमाथि आक्रमण गरेको । त्यसले निम्त्याएको इजरायल–लेबनान युद्धपछि लेबनानमा संयुक्त राष्ट्रसंघीय सैन्य मिसन स्थापना भयो, जो अहिले पनि यथावत छ। इजरायलका लागि लेबनानको विद्रोही सैन्य संगठन (अहिले राजनीतिक दलसमेत बनिसकेको) हिज्बुल्लाह अर्को टाउको दुखाइ बनेको छ, जसले दक्षिणी लेबनानबाट बेलाबेला इजरायलमा आक्रमण गरिरहन्छ। त्यसपछि इजरायलले जेरुसेलम आफ्नो क्षेत्र भएको दाबी गर्न थाल्यो । तर अन्तर्राष्ट्रियस्तरमा यसलाई मान्यता दिइएको छैन । प्यालेस्टिनी पक्ष पनि पूर्वी जेरुसेलमलाई आफ्नो राजधानी बनाउन चाहन्छ । त्यसैले इजरायल–प्यालेस्टाइन द्वन्द्वको मुख्य कारण जेरुसेलमलाई पनि मानिन्छ ।लेख;बिचार -अबुल हुसैन अन्सारी, महाधिवेशन प्रतिनिधि, नेविसंघका पुर्व केन्द्रिय सदस्य ।