एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। आफ्ना प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पछि पार्दै खतिवडा अध्यक्षमा विजयी भएका हुन् ।

खतिवडाले ५१२ प्राप्त गरेका छन् भने ढकालले ४३० मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा ३५ मत बदर भएको निर्वाचन समितिका संयोजक चुडामणि आचार्यले जानकारी दिए ।

एमालेभित्र खतिवडा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

ओलीले कोशी प्रदेश अधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न निर्देशन दिएपनि खतिवडा र ढकाल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रेका थिए ।

प्रदेश अध्यक्षमा विजयी भएसँगै खतिवडाले २०६६ सालमा मोरङको पाँचौ जिल्ला अधिवेशनमा हारेको बदला लिएका छन् । सो अधिवेशनमा ढकालले खतिवडालाई हराएका थिए । त्यस बेला ढकाल केपी ओली समूहबाट र खतिवडा माधव नेपाल समूहबाट उम्मेदवार बनेका थिए । जिल्ला अध्यक्षमा भिडेको १४ वर्षपछि प्रदेश अध्यक्षमा आमनेसामने भएका दुई नेताबीचको प्रतिस्पर्धामा खतिवडाले बाजी मारे । यस पटक एमाले अध्यक्ष ओलीको खतिवडालाई साथ थियो । जिल्ला अध्यक्षको अधिवेशनपछि उनीहरूबीचमा प्रतिस्पर्धा भएको थिएन ।

खतिवडा मदन भण्डारीसङ काम गरेका नेता भए पनि एमालेको प्रमुख नेतृत्वमा आएका थिएनन् । ६२ वर्षका खतिवडा भने २०४९ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा मोरङको लेटाङ गाविस अध्यक्षमा निर्वाचित भए । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका डिगबहादुर लिम्बूसँग पराजित उनले तिनै लिम्बूलाई हराउँदै २०७४ सालमा मोरङ १ बाट प्रतिनिधिसभा सदस्य जित्न सफल भए । २०७९ को निर्वाचनमा भने उनी लिम्बूसँगै पराजित भएका थिए ।

उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन्।

सचिवमा खतिवडा प्यानलबाट राजकुमार भण्डारी विजयी भएका छन्। उनले ढकाल प्यानलबाट उम्मेदवार बनेका शैलेस लामालाई १४३ मतान्तरले पराजित गरेका छन्। भण्डारीले ५२४ र लामाले ३८१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।
यस्तै पाँचथरका राजकुमार भण्डारी सचिवमा निर्वाचित हुनु भएको छ । उहाँले ५२४ मत ल्याएर विजयी बन्दा उहाँका प्रतिद्वन्दी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गर्नु भयो । लामा यस अघि प्रदेशको उपसचिव रहनु भएको थियो ।

यस्तै उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन् । उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मत ल्याएर पराजित भए । दुई उपसचिवका लागि तीन जना प्रतिस्पर्धामा रहेको थियो । सचिव र उपसचिव खतिवडा प्लानलबाटै विजयी भएका हुन् ।

सदस्यहरुमा भने मिश्रित नतिजा आएको छ । मजदुर तर्फबाट सदस्यमा भीमज्वाला राई, अम्बिर लिङ्देन र किशोर धमला विजयी भएका छन् । यस्तै खुल्ला सदस्यमा तेह्रथुमबाट लक्ष्मण तिवारी, आदिवासि महिलामा मौसम राई, मजदुर महिलामा निर्मला परियार, कबिता राई विजयी भइन् ।

अधिवेशनका लागि प्रदेशभरबाट ९९७ जना प्रतिनिधि छनोट भएर आएका थिए । तीनमध्ये ९७७ जना मतदानमा सहभागी भएको र २० जनाले मतदानमा अनुपस्थिती भएको निर्वाचन कमिटीले जनाएको छ ।