दुहबी जेसीजद्धारा तेस्रो संस्करणको मिसेस तीज २०८० प्रतियोगिता हुँदे

दुहबी जेसिजको आयोजनामा तथा दुहवी नगरपालिकाको संयोजनमा तेस्रो संस्करणको मिसेस तीज गीत प्रतियोगिताको तयारी पूरा भएको छ ।

सुनसरीको दुहबीमा नेपालीहरुको महान चाड हरितालिका तीजको अबसरमा दुहबी नगरपालिकाका तथा छिमेकी गाउँपालिकाका महिलाहरुलाई लक्षित गरि महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले तेस्रो संस्करणको मिसेस तीज २०८० हुने भएको हो ।

संस्कृती जगेर्ना गर्न र भड्किलो हुँदै गएको तीज पर्वलाई बिकृति हुनबाट रोक्न साथै विवाहित महिलाको क्षमता अभिवृद्धि तथा अन्तर निहित प्रतिभाको प्रष्फुटन गराउने उद्धेश्यले दुहवी जेसीजले दुहबी नगरपालिकाका १२ वटै वडा तथा छिमेकी गाउँपालिकाका महिला दिदीबहीनीहरुलाई एउटै छातामुनी भेला गराई तेस्रो संस्करणको मिसेस तीज प्रतियोगिता २०८० को आयोजना गर्ने दुहवी जेसीजका नी-वर्तमान अध्यक्ष दिपेश राउतले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

दुहवी वडा नं ४ स्थित आफ्टर डार्क पार्टी प्यालेसको हलमा प्रतियोगिता असोज १ गते सोमबारका दिन  संचालन हुने उक्त प्रतियोगितामा ३० जना महिलाहरुको सहभागिता रहने दुहबी जेसीजका अध्यक्ष सुष्मा चौधरीले बताए ।
चौधरीले तीजमा लगाउने पोशाक र तीजको दर खाने प्रवृत्तिमा पनि विकृति आएको बताइन।तीजमा सामान्य पोशाकमा रमाउने दिन हराएका छन्, महँगा कपडा र गहना लगाउनैपर्ने जस्तो देखिएको छ, होटल, पार्टीप्यालेसमै दर खानुपर्छ भन्ने नजिर पनि बस्न खोजे जस्तो छ’, अध्यक्ष सुष्मा चौधरीले भनिन, ‘यी दुवै खराब संस्कृतिका विरुद्ध पनि हामीले तीज गीत प्रतियोगिता मार्फत अभियान चलाएका छौँ।’देशमा धेरै सौन्दर्य प्रतियोगिता हुने भएता पनि उक्त प्रतियोगिता भिन्दै प्रकारको प्रतियोगिता भएको र तीज पर्वसँग सम्बन्धित यस प्रतियोगिताले धर्म संस्कृतिको महत्व बुझाउने अध्यक्ष चौधरीको दाबी रहेको छ ।

आयोजकले कार्यक्रमको दौरान सहभागीहरुलाई र्‍याम्प वाक, स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम साथै व्यक्तित्व विकास तथा आत्मनिर्भर सम्बन्धि प्रशिक्षण दिई सकेको जनाएको छ ।
आयोजकले आउने असोज १ गते तीज पर्वका दिन सहभागी सम्पूर्ण महिलाहरुलाई उपहार दिनुका साथै प्रथम हुने प्रतियोगीलाई नगद रू २०हजार १ सय, द्धितिय हुने प्रतियोगीलाई नगद रू१५ हजार १ सय र तृतीय हुने प्रतियोगीलाई नगद रू १० हजार १ सय साथै विभिन्न नौं विधा (उत्कृष्ट पहिरन, उत्कृष्ट मेकअप, उत्कृष्ट केश, उत्कृष्ट मुस्कान, उत्कृष्ट हिंडाइ, उत्कृष्ट अनुशासन, उत्कृष्ट व्यक्तित्व, सामाजिक सञ्जाल छनोट, ब्युटी विथ ब्रेन) मा उत्कृष्ट हुने प्रतियोगीलाई जनही रू ४ हजार १ सय नगद पुरस्कार, प्रमाणपत्र तथा गिफ्ट हयाम्परले पुरस्कृत गर्ने बताए ।

दुहबी जेसिजको भबनमा गरिएको पत्रकार सम्मेलनमा मिसेज तीज २०८० कार्यक्रमका लागि ६ लाख खर्च हुने र यसकालागि दुहबी नगरपालिकाको कार्यालय र स्थानीय संघ संस्था लगायतको सहयोगमा खर्च जुटाइने जानकारी दिइएको छ ।