रनसँगै इटहरीमा वीपी सप्ताह सुरु

भदौ १६ गते । ११० औँ वीपी जन्मजयन्तीको अवसरमा पहिलो चरणमा इटहरीमा वीपी सप्ताह कार्यक्रम सुरु भएको छ ।

आज (शनिवार) सुनसरीको इटहरीमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. २, प्रदेशसभा (क) द्वारा आयोजित कार्यक्रमलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गानाले रन उद्घाटन गर्दै वीपी सप्ताहको उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीय सदस्य ढुङ्गानाले वीपीको योगदान नेपाली राजनीति र साहित्यमा जीवन्त रहने बताउँदै जति व्याख्या गरे पनि अपूर्ण हुने बताए ।

‘यसरी रनिङ कार्यक्रमको आयोजना गरेर पनि वीपीलाई स्मरण गर्नु अत्यन्त उदाहरणीय कुरा हो,’ उनले भने, ‘युवाहरूलाई खेलकुद, स्वास्थ्य र राजनीतिमा जोड्नका निम्ति यो किसिमको कार्यक्रम गर्दा खुसी लागेको छ ।’

काँग्रेस रनमा धरान, विराटनगर, इटहरीका धावकहरूको सहभागिता रहेको र रनमा कुल ५ सय ८८ जना धावकहरूको सहभागिता रहेको थियो ।

५ किलोमिटरको दौडमा पुरुषतर्फ राजन मेन्याङ्बो प्रथम, दीपेश तामाङ द्वितीय र प्रशान्त तामाङ तृतीय भए ।

यस्तै, महिलातर्फ इन्द्रकला नेङ्वाङ प्रथम, छेन्मिमाया राई द्वितीय र कल्पना राई तृतीय भए । उनीहरूलाई क्रमशः नगद १० हजार, आठ हजार र पाँच हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. २, प्रदेशसभा (क) का सभापति सुवेक्छु देवान राईले बताए ।

पछिल्लो समय युवाहरूमा बढ्दो राजनीतिक वितृष्णालाई खेलकुद र स्वास्थ्यसँग जोड्नका निम्ति यस किसिमको कार्यक्रम आयोजना गरिएको सभापति देवानले बताए ।

सप्ताहव्यापी रूपमा मनाइने कार्यक्रम अन्तर्गत भदौ १९ गते मङ्गलवार वीपी साहित्य सन्ध्या, २२ गते शुक्रवार वृक्षारोपण र २४ गते आइतबार वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने सभापति देवानले जानकारी दिए ।