मोरङमा सहकारी संस्था फोडेर चोरी गर्ने गिरोह पक्राउ

। मोरङमा सहकारी फोडेर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

धनपालथान गाउँपालिका –२ कुशमाहमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा रातको समयमा ढोकामा लगाइएको ताला फुटाएर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

सहकारीबाट स्टिलको दराज तथा टेबलको घर्रामा रहेको नगद पचास हजार साथै २ थान ल्यापटप समेत चोरी भएको थियो ।
चोरी गरी तत्काल फरार रहेका धनपालथान–१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, वडा नं–७ कदमाह बस्ने २४ वर्षीय रोशन मण्डल र सोही ठाउँका २० वर्षीय विशाल कुमार सिंहलाई आइतबार पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरूमाथि जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।