धरानमा निशेध आज्ञा आदेशका कारण आज शनिवार बजार क्षेत्र सुनसान

भाद्र ९ गते । जिल्ला प्रशासन सुनसरीले धरानमा जारिगरेको निशेध आज्ञा आदेशका कारण आज शनिवार बजार क्षेत्र सुनसान बनेको छ ।

हिजो शुक्रवार राती १२ बजे देखी लागु भएको निशेध आज्ञा अवधि आज शनिवार राती १२ बजे सकिन्छ ।


निशेध आज्ञा अवधिमा धरान प्रवेश गर्ने ५ नाकामा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताएका छन् । उनका अनुसार धरान प्रवेश गर्ने पश्चिम बाटो वराहक्षेत्र नगरपालिका–१ मा पर्ने झन्डा चोकदेखि धरानतर्फको क्षेत्र र धरान प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनी नगरपालिका–६ बाट वराहक्षेत्र नगरपालिका–३ चोकबाट धरानतर्फको क्षेत्र प्रवेशमा कडाइ गरिएको छ ।


यस्तै, इटहरी–२० तरहरा पानीपियादेखि उत्तर धरान क्षेत्र, धरान–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरान क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

धरानको चारैतिरका प्रमुख नाकाहरुमा सवारी आवागमनलाई कडाई गरिएको छ । धरानभित्र पनि बाक्लो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

शनिबार धरानमा गर्ने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर प्रतिबन्ध गरेपछि हिन्दुधर्म समर्थकहरुले इटहरीमा प्रदर्शन गरिरहेका छन् ।
धरानमा गाईगोरु काट्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने माग राखेर इटहरीमा हिन्दुधर्म समर्थकहरुले प्रदर्शन गरेका हुन् ।
तोकिएका नाकाहरूमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गर्ने बाहेक अन्य अनावश्यक कामका लागि हिँडडुल र भेला गर्न पाइने छैन । निशेध आज्ञा उल्लङ्घन गर्नेलाई स्थानीय प्रशासन ऐन,२०२८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले सुक्रवार जारि गरेको विज्ञप्तिमा उलेख रहेको छ ।