धरानमा आज राती १२ बजेदेखि भोली राती १२ बजेसम्म निशेध आज्ञा आदेश

भाद्र ८ गते । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरमा देखिएको धार्मिक तथा साम्प्रदायिक अवस्था तथा जनस्वास्थ्य समेतको अवस्थालाई हेर्दै आज राती १२ बजेदेखि भोली राती १२ बजेसम्म निशेध आज्ञा आदेश जारी गरेको छ ।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार (आज) एक विज्ञप्ति जारी गर्दै सुनसरीका १२ पालिकामा डेंगु फैलिएर १६ हजार भन्दा बढी संक्रमित भएकोले धरान उपमहानगरमा डेंगु नियन्त्रण नहुन् जेलका लागि स्वास्थ्य संकटकाल घोषणा सिफारिस गरेकी छन् भने यस अवस्थामा धरान उपमहानगरपालिका क्षेत्र धार्मिक साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दै संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिक भोलि एक दिनका लागि अत्यावश्यक काममा सुरक्षा निकायको समन्वयमा बाहेक सामुहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनितिक सभा , र्याली, भेला तथा प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न तथा नगराउन भन्दा निशेध आज्ञा जारी गरिएको छ ।


पाण्डेका अनुसार निषेधादेश जारी गरिएका क्षत्रेमा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र ननगरपालिका १ मा पर्ने झण्डा चोक देखि धरान तर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नगरपालिका ६ बाट बराहक्षेत्र वडा नं.३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान वडा नं. ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारबाट धरानतर्फकोक्षेत्र रहेको छ । आदेश विपरीत गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने बताइएको छ ।

यसैबीच सर्वदलिय बैठकले विभिन्न हिन्दू धर्मसँग सम्बन्धित संघ÷संगठनले धरानमा भइरहेका घटना (चर्च निर्माण, सार्वजनिक रुपमा गोरुको मासु खाएको) हरुलाई लिएर विरोधस्वरुप र्या्ली गर्ने भनी प्रचारप्रसार भईरहेको विषयमा तत्काललाई धार्मिक, साम्प्रदायिक सद्भाव खल्बलिन सक्ने एवं डेङ्गी महामारिले स्वास्थ्य सङ्कटको रुपमा लिएको अवस्थामा सुरक्षा चुनौतिलाई मध्यनजर हाललाई कुनैपनि कार्यक्रम उपयुक्त नभएको भन्दै सुझाव दिएको छ । यहाँका प्रमुख दल सहित १५ राजनीतिक दलका प्रमुख÷प्रतिनिधिहरुले हाललाई भदौ ९ गते गर्ने भनिएको धरानको कार्यक्रम नगर्दा उपर्यूक्त हुने सुझाव प्राप्त भएको जानकारी दिएका छन ।