धरान उपमहानगरपालिका क्षेत्रमामा स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने तयारी

साउन २६ गते । डेङ्गी रोगको महामारी फैलिएको सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा ‘जनस्वास्थ्यको आपतकालीन अवस्था’ घोषणा गरिने भएको छ ।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा आज सुक्रवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आपतकालीन अवस्थाको घोषणाका लागि सङ्घीय सरकारको गृह मन्त्रालय र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

 

 

 

 

यसका साथै बैठकले पशुमा लाग्ने लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि स्थानीय तह तथा सरोकारवाला निकायले अभियान चलाउने निर्णय पनि बैठकले गरेको छ । यसैगरी, आँखा पाक्ने रोगको महामारी नियन्त्रण्का लागि नागरिक तहमा स्वास्थ्य प्रोटेकल पालनाको चेतना फैलाउने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी, कोसीटप्पु वन्यजन्तु आरक्षको नजिक पर्ने सुनसरीका स्थानीय तहहरूमा जङ्गली हात्तीको आतङ्क नियन्त्रणका लागि विशेषज्ञ सहितको टोली परिचालन गरिने भएको छ ।

जल तथा मौसम पूर्वानुमान विभागले भारी वर्षाको पूर्वानुमान गरेकाले कोसी ब्यारेज तथा अन्य खोला तथा नदी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि समितिले अपिल गरेको छ । बाढी तथा कटान नियन्त्रणका लागि बोरा तथा तारजाली तयारी अवस्थामा राख्न जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयलाई समितिले निर्देशन दिएको छ ।