कुशाहामा फिडर

नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले ३३÷११ के.भी. इनरुवा सबस्टेशनबाट सञ्चालित १२७ किलोमिटर (ब्राञ्चलाईन सहित) लामो ११ के.भी.लौकही फिडरलाई व्यवस्थित बनाउने कार्य गरेको छ । लौकही कुशाहा स्थित फिडरलाई प्राधिकरणले तीन भागमा बिभाजन गरेर व्यवस्थित बनाउने कार्य गरेको हो ।

सुनसरीको कोशी गाउँपालिका ३ को कुशहामा निर्माण गरेको १३२÷११ के.भी. कुशहा सबस्टेशनबाट दुईवटा ११ के.भी.लाईनहरु पूर्व पश्चिम राजमार्ग जमुवा नहर चोक कोशी टप्पु वन्यजन्तु आरक्षणको मूल गेटसम्म निर्माण गरी लौकही फिडरमा जोडेको छ ।

यसले गर्दा १२७ किलोमिटर लम्बाई रहेको फिडरलाई तीन भागमा बिभाजन गरेको प्राधिकरणले जनाएको छ । कुशाहा सबस्टेसनदेखि जमुवानहर चोक हुँदै भन्टाबारीसम्मको लाईन ११ के.भी. कोशी फिडरबाट संचालन हुने भएको छ भने कुशहादेखि जमुवानहरचोक हुँदै पूर्व सुनसरी खोलासम्म ११ के.भी.भोक्राहा फिडरबाट संचालन हुनेछ ।

त्यसैगरी पुरानो ११ के.भी.लौकही फिडरबाट ३३÷११ के.भी. इनरुवाबाटै इनरुवाको महेन्द्र चोक हुँदै रामधुनी ननगरपालिका ८ र ९ डुम्राहाको क्षेत्रहरुमा बिद्युत प्रवाह गरिने भएको छ । उक्त कार्यको आईतबार नेपाल विधुत प्राधिकरणको दुहवी ग्रिड शाखा प्रमुख रोशन खड्का तथा इनरुवा वितरण केन्द्रको कार्यालय प्रमुख अभिनव झा लगायतको उपस्थितिमा कोशी फिडर र भोक्राहा फिडरहरुको उद्घाटन गरी सञ्चालनमा ल्याईएको हो । विगतमा लौकही फिडरबाट सेवा लिईरहेका ग्राहकहरुले पटक पटकलाईन ट्रीप हुने तथा भोल्टेज नपुग्ने समस्या भोग्नु परेकोमा नयाँलाईनहरु निर्माण भएपछि समस्याहरुको धेरै हदसम्म समाधान हुने भएको छ । समस्यालाई समाधान गर्नका लागि व्यवस्थित बनाउने कार्य गरेको प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख झाले बताउनुभयो । झाले उद्घाटन कार्यक्रममा दिनुभएको जानकारी अनुसार यसबाट पावर क्वालिटिमा सुधार, भोल्टेज सुधार तथा सिस्टमको विश्वसनीयता बढ्ने र ग्राहकहरुले राम्रो विद्युत सुविधा प्राप्त गर्नेछ ।

यस कार्यले ३३÷११ के.भी. इनरुवाको लोड व्यवस्थापन कार्यमा समेत टेवापुग्ने झाले जानकारी दिनुभयो । नेपाल विधुन प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिंग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले विद्युत सप्लाईको विश्वसनीयता बढाउने तर्फ योजनाबद्ध कार्य गर्न दिनुभएको निर्देशान अनुरूप उक्त फिडरहरु निर्माण गरीएको झाले जानकारी दिनुभएको छ । उद्घाटनसंगै कोशी गाउँपालिका, भोक्रहा नरसिंह गाउँपालिका, बराहक्षेत्र नगरपाकिलाका केही क्षेत्रका स्थानीयवासीहरु खुसी भएका छन् ।