नयाँ अनलाइनका प्रकाशक, सम्पादकद्वारा आचारसंहिता पालनामा प्रतिबद्धता

काठमाडौँ । नयाँ दर्ता भएका अनलाइन सञ्चालक र सम्पादकहरुले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न प्रतिवद्धता जनाएका छन् ।

प्रेस काउन्सिल नेपालले सञ्चालन गरेको अभिमुखीकरण कक्षामा विभिन्न ४६ वटा सञ्चार माध्यमका प्रतिनिधिहरुले मङ्गलवार त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अनलाइन सञ्चार माध्यम सञ्चालनमा आउनुअघि पत्रकार आचारसंहिता, पेसागत दायित्व र जिम्मेवारीबारे सजग गराउन काउन्सिलले नियमिति अभिमुखीकरण सञ्चालन गरी अनुगमन समेत गर्दै आएको छ । त्यसक्रममा मङ्गलवार विषयगत विज्ञद्वारा देशका विभिन्न भागबाट सञ्चालनमा आउन लागेका सञ्चार माध्यमलाई आचारसंहिताका विभिन्न पक्ष र पछिल्ला समस्याहरुबारे प्रष्ट पारिएको थियो ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले डिजिटल पत्रकारितालाई विश्वसनीय र प्रभावकारी बनाउन मिडिया साक्षरताको खाँचो पर्ने भएकाले यस्ता कार्यक्रमलाई बढावा दिनुपर्ने धारणा राख्नुभयो । ‘पत्रकारिताप्रति समाजले निकै ठूलो अपेक्षा राखेको हुन्छ । गलत कामलाई गलत र सहीलाई सहीरुपमा बाहिर ल्याउनुपर्छ’  बस्नेतले भन्नुभयो, ‘डिजिटल पत्रकारितालाई तथ्यपूर्ण र विश्वसनीय बनाउन सकेन भने ठूलो समस्या निम्त्याउनेछ ।’

अध्यक्ष बस्नेतले छापा माध्यममा अहिले देखिएको सङ्कट र डिजिटल बहावको पानीढलोमा अब सञ्चारकर्मीले आफ्नो पेसागत शुद्धताका लागि विशेष ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो । ‘प्रेस काउन्सिलले गर्ने अनुगमन, दिने सुझाव त छँदैछ, तर सञ्चार माध्यम स्वयम्ले स्वअनुगमन र आत्मसमीक्षा गरेर अघि नबढ्ने हो भने समाजले राखेको अपेक्षा पूरा हुन सक्दैन । त्यसको सबैभन्दा ठूलो घाटा सञ्चार जगत्लाई नै हुन्छ ।’ उहाँले भन्नुभयो ।

कार्यक्रमका विज्ञका रुपमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरु तारानाथ दाहाल र डा.महेन्द्र विष्टले काउन्सिलले जारी गरेका आचारसंहिता र विभिन्न सञ्चार निर्देशिकाहरुमा केन्द्रित रहेर छलफल चलाउनुभएको थियो । त्यस्तै, महासंघका अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्रका विभिन्न सङ्कट, अवसर र अबको दायित्वबारे सुझावहरु राख्नभुएको थियो । अध्यक्ष पोख्रेलले सञ्चार क्षेत्र श्रम शोषणमुक्त क्षेत्रका रुपमा स्थापित हुनुपर्ने र त्यसका लागि व्यवस्थापकहरु तयार हुनुपर्ने सुझाव राख्नुभयो । ‘पत्रकारले स्वतन्त्र र निष्पक्ष साथै निर्बाध ढङ्गले समाचार सम्प्रेषण गर्न पाउनुपर्छ । सेवा, सुविधाका कुनै अल्झन हुनुहुँदैन । व्यवस्थापकले यी पक्ष बुझ्नैपर्छ । न्यायमैत्री ढङ्गले काम गर्ने हो भने व्यवस्थापकका अहिले देखिएका समस्यासमेत कम हुँदै जान्छन्’ अध्यक्ष पोख्रेलले भन्नुभयो ।