दुई साता अघि स्थगित नर्सिङ लाइसेन्स परीक्षाको छानविन प्रक्रिया कहाँ पुग्यो ?

काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले दुई साता अघि स्थगित गरेको ३३ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजाको बारेमा अझै निर्णय लिन सकेको छैन् ।

परिषद्ले गत २३ असारमा सञ्चालन गरेको परीक्षामा सिद्धार्थ बनस्थली परीक्षा केन्द्रबाट तीन जना परीक्षार्थीले प्रश्न पत्र आउट गरेका थिए ।

उनीहरुलाई परीक्षा केन्द्रबाट नै प्रहरीले पक्राउ गरी छानविन गरिरहेको छ । प्रश्नपत्र आउट गरेको आरोपमा त्यसबेला परीक्षा केन्द्रबाट कास्की लेखनाथकी २० वर्षीया समीक्षा थापा, धादिङ त्रिपुरा सुन्दरीका २३ वर्षीया सविना आले र कास्की लेखनाथकै २० वर्षीया भावना गुरुङ प्रक्राउ परेका थिए ।

उनीहरुले मोवाइलबाट प्रश्न पत्र फोटो खिचि बाहिर पठाएको र बाहिरबाट उत्तर समेत लेखि आएको भेटिएपछि केन्द्राध्यक्षले तत्कालै प्रहरीलाई खबर गरी उनीहरुलाई नियन्त्रणमा लिएको परिषद्ले जनाएको थियो । तर प्रहरीले छानविनको निष्कर्ष निकाल्न नसक्दा परिषद्ले नयाँ परीक्षा लिने कि पुरानैबाट नतिजा निकाल्ने भन्ने निर्णय गर्न सकेको छैन् ।

‘केही विद्यार्थीको गल्तीले सारा विद्यार्थीलाई क्षति भयो । यति लामो समय अन्योलता उत्पन्न भयो । यसमा हामी दुखी छौँ । प्रहरीलाई छिटो निस्कर्ष निकाल्नु परयो भनेर भनि नै रहेका छौँ । तर छानविनको कुरा भन्ने वित्तिकै नहुने । प्रहरीबाट निस्कर्ष आएपछि त्यसको आधारमा निर्णय लिन्छौँ,’ रजिष्ट्रार शुक्ला खनालले भनिन् ।

उनले निस्कर्ष आउन अझै एक साता दश दिन लाग्ने संकेत पाएको बताईन् ।

‘गल्ती नगर्ने विद्यार्थीलाई त समस्या भयो नि । अब लोकसेवाको कुरा छ । कतै करार खुल्ला त्यता पनि अप्लाइ गर्न सकिएन । यो हामीले बुझेकै छौँ । त्यसैले प्रहरीलाई प्राथमिकताका साथ छानविन अघि बढाइदिन पनि भनि रहेका छौँ । प्रहरीले पनि गरि नै रहेको छ,’ उनले भनिन् ।

पक्राउ परेका परीक्षार्थीको वयानको आधारमा कुन गिरोह सम्लग्न छ भन्ने बारेमा टुंगोमा पुग्ने समेत उनले बताईन् ।नेपाली हेल्थ